चार करोड लगानीमा घरघर बिजुलीबत्ती

बिजुली पुगेपछि गाउँमा खुसीयाली, घरघर पुगेर गाउँपालिका अध्यक्षले बाले बत्ती


चार करोड लगानीमा घरघर बिजुलीबत्ती

राप्तीसोनारी(बाँके) १८ चैत : बाँकेको राप्तीसोनारी गाउँपालिका अध्याँरोमुक्त भएकोछ । गाउँपालिकाले आफ्नै लगानीमा विद्युत विस्तार सम्पन्न गरेसंगै राप्तीसोनारी गाउँपालिका अध्याँरोमुक्त बनेको हो ।

बाँके जिल्लामै पहिलो पटक गाउँपालिकाले आफ्नै लगानीमा विद्युत विस्तार गरेपछि यतिबेला गाउँपालिकामा खुसीयाली समेत छाएकोछ ।

सुगम जिल्लाको दुर्गम क्षेत्रका नामले परिचित राप्तीसोनारी गाउँपालिकाले करिब डेढ दशकबढि समयदेखि विद्युतका लागि संघर्ष गर्दै आएको थियो । योबिच सो क्षेत्रमा विद्युत सेवा विस्तार गर्न र स्थानीयबासीलाई अध्याँरोबाट मुक्त पार्न पहल नभएको भने होइन । यद्यपी ती सबै पहल र प्रयास विभिन्न राजनीतिक कालखण्डमा तुहिदै आएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

स्थानीय निकायको निर्वाचनपछि जनप्रतिनिधी आएसंगै विद्युत सेवा पाउने आशामा रहेका राप्तीसोनारीका स्थानीयको आशा टुटेको थिएन । त्यही आशालाई मुर्तरुप दिदै राप्तीसोनारी गाउँपालिकाले दशकौंदेखिको समस्या समाधान गरेकोछ ।

यसअघि राप्तीसोनारी गाउँपालिका अन्य वडामा समेत विद्युत विस्तार गरेको गाउँपालिकाले गाउँलाई अध्याँरोबाट मुक्त पार्न बजेट नै विनियोजन गरि विद्युत विस्तारको कार्य अघि बढाएको थियो । सोही योजनाले मुर्तरुप लिँदा गाउँपालिकाको वडा नम्बर ३ मा बुधबारदेखि विद्युत पुगेको छ ।

गाउँपालिकाको खर्चमा एक हजार तीन सय घरधुरीमा विद्युत पु¥याइएको छ । १२ वर्षसम्म ठेकेदारले काम नगर्दा गाउँमा बत्ती बल्न सकेको थिएन ।

‘ठेकेदारले १२ वर्षसम्म गाउँमा विद्युत पु¥याउने काम गरेन । त्यसपछि मैले गाउँपालिकाबाटै बत्ती पु¥याउँछु भनेर जनप्रतिनिधिहरुसँग प्रतिबद्धता ब्यक्त गरेँ, विभिन्न कठिनाईका बाबजुत अहिले यो कामले सफलता पाएकोछ ।’ गाउँमा विद्युत सेवा शुरु गर्दाको खुशी ब्यक्त गर्दै अध्यक्ष लाहुराम थारुले भने, ‘६ महिनामै आफ्नै स्रोतसाधनबाट गाउँमा बत्ती बलेको छ । यो हाम्रो लागि खुशीको क्षण हो । यो नयाँ कार्य हो । यद्यपी विश्वलाई हेर्दा बत्ति बाल्न पाउनु नयाँ कुरा भने होइन ।’

उनले पालिकालाई अध्याँरोबाट मुक्त पार्नको लागि राप्तीसोनारी गाउँपालिकाले गत आर्थिक बर्ष ०७६/०७७ मा बिद्युत सम्बन्धी नीति तथा कार्यक्रम पारीत गरी राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ गत वर्षको चैत्र ६ गते पहिलो पोल गाढेर सुरुवात गरिएको बिद्युतिकरणले वडानम्बर ३ अध्याँरोबाट मुक्त गरिएको बताए ।

यसअघि ६ र ७ वडामा विद्युत पु¥याँउदा पाएको जनताको साथ र सहयोगले गाउँपालिकामा बत्ति बाल्न थप उर्जा दियो अध्यक्ष थारुले भने अब हामी गाउँपालिकाका कुनैपनि घर विजुलीबाट बञ्चित नहोउन भन्दै विद्युत विस्तारमा अघि बढ्नेछौं ।

यता ग्रामीण क्षेत्रमा बिद्युत बिस्तारसंगै बाँके जिल्लाको बिकट क्षेत्र मानिएको राप्तीपारीका सबै घरमा बिद्युत बिस्तार कार्यलाई बिद्युत प्राधिकरणले पनि प्रथामिकताका साथ आफनो कार्य अगाडी बढाएको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश नेपालगन्ज डिभिजन प्रमुख सुरज गौतमले जानकारी दिए ।

‘सरकारको आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य अनुरुप स्थानीय सरकारको बजेट अनुरुप विद्युतीकरण कार्य अघि बढेको थियो । सोही लक्ष्य अनुसार ६ महिना अघि कार्य सम्पन्न भएता पनि सामुदायिक विद्युतीकरण गर्ने की प्राधिकरण मार्फत गर्ने भन्ने अन्यौलताका कारण केही ढिला भएको हो’ डिभिजन प्रमुख गौतमले भने । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ मा विद्युत पुगेसंगै गाउँपालिकाको ९५ प्रतिशत विद्युतीय कार्य सम्पन्न भएको उनले बताए ।

बिजुली पुगेपछि गाउँमा खुसीयाली

राप्तीसोनारीको वडा नम्बर ३ मा बत्ती बलेपछि गाउँमा खुसीयाली छाएकोछ । विद्युतीकरणको औपचारिक उद्घाटनका अवसरमा खुसी भएका स्थानीयले पञ्चेबाजा र थारु नाचगान गर्दै अबिर जात्रा समेत गरे ।

स्थानीयले बुधबार नाचगानसहित निकालेको अबिर जात्राले गाउँ परिक्रर्मा गरेको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, वडा अध्यक्ष गंगाराम थारु, नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश नेपालगन्ज डिभिजन प्रमुख सुरज गौतम लगायतलाई स्थानीयले अबिर माला लगाई जात्रा गरेका थिए ।

घरघर पुगेर गाउँपालिका अध्यक्षले बाले बत्ती

गाउँमा विद्युत पुगेपछि गाउँपालिका अध्यक्ष थारुले विद्युत जडान गरेका ब्यक्तिको घरघर पुगेर बत्ती बालेका थिए । सो क्रममा अध्यक्ष थारुलाई विद्युत जडान गरेका ब्यक्तिले अबिरमाला समेत लगाइ बधाइ दिएका थिए ।

अध्यक्ष थारुले स्थानीय मधुकर केसीको घरमा जडान गरिएको विद्युतको बटन अन गरेर बत्ती बालेका थिए । उनले सो क्रममा १० वटा घरमा बुधबार बत्ती बालेका थिए ।

विद्युतीकरण हस्तान्तरण एवम उद्घाटनका क्रममा १० घरमा विद्युत जडान गरिएपनि सो वडाका एक हजार ३ सय जनाले विद्युत जडानका लागि निवेदन दिएकाछन् ।
स्थानीयले धामपुरमा ३३ केभी प्रसारण लाइनको सव स्टेशन परिसरको काउण्टरबाट विद्युतको महसुल बुझाउने प्राधिकरणले जनाएकोछ ।

राप्ती सोनारीको वडा नम्बर ३ मा पाँच हजार नौ सय १९ जनसंख्या छ । विद्युत सेवा पुग्दा बैंशा, नवलपुर, भगवतीपुर, बेलासपुर, गगराबास, भवनीयापुर, वनघुस्री, नारायणपुर, विसुवा, खैरहनी, सिनावास, जंगपुर, शाहीपुर र बेलडाँडालगायतका गाउँ लाभान्वित भएकाछन् ।