नेपालगन्ज: बाँकेमा सोमबारसम्म विप्लव माओवादीका पाँच जना कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । बिप्लव माओवादीलाई सरकारले प्रतिबन्ध लगाएपछि बाँकेमा पाँचजना नेता कार्यकर्ताले आत्मसमर्पण गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
सोमबर बिप्लवका एक नेताले प्रशासनमै पुगेर आत्मसमर्पण गरेका छन् । खजुरा गाउँपालिका वडा नम्बर–८, रनियापुर बस्ने ६६ वर्षीय चुन्नी खाँले अबदेखि पार्टीको कुनैपनि गतिबिधिमा नलाग्ने प्रतिबद्धतासहित आत्मसमर्पण गरेका हुन् ।
तीन वर्षदेखि नेकपा माओवादी बिप्लवमा सहभागी रहेका खाँले पछिल्लो दुई वर्षदेखि जिल्ला सल्लाहकार थिए । स्वासप्रश्वासको दिर्घ रोगी भएकाले पार्टीको गतिबिधिमा सक्रिय हुन नसक्ने कारण आफुले आत्मसमर्पण गरेको खाँले बताए । उनलाई कागज गराएर छाडिए पनि उनको गतिविधीलाई निगरानीमा राखिने बाँके प्रशासनले जनाएको छ ।
तीन छोरा र एक छोरी ठुला भइसकेका छन् र छुट्टै बस्छन्, आफु दमको बिरामी पनि भए त्यही भएर पार्टी छाडेको उनले बताए । यसअघि खाँ स्थानीय तहको चुनावमा समेत पक्राउ परेका थिए । सरकारद्वारा पार्टीमाथि लागेको प्रतिबन्धका कारण स्थानीय कार्यकर्तालाई समस्या हुँदा आत्मसमर्पण गरेको हुनसक्ने बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार प्रतिबन्धपछि हालसम्म पाँच जना नेता कार्यकर्ताले आत्मसर्मपण गरेका छन् ।
स्थायी ठेगाना सल्यान भएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुवंर र रुकुम चौरजहरीका गगन खडकाले आत्मसमर्पण गरेका छन् । चार जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए ।