‘ताउ–ते’को प्रभाव कायमै, नेपालगन्जमा विहानैबाट वर्षा


‘ताउ–ते’को प्रभाव कायमै, नेपालगन्जमा विहानैबाट वर्षा

नेपालगन्ज ६ जेठ : भारतको गुजरातदेखि उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ‘ताउ–ते’को प्रभाव यतिबेला नेपाल रहेको छ ।

नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातदेखि उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ‘ताउ–ते’को प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

‘ताउ–ते’ को प्रभावले यतिबेला नेपालगन्ज र आसपासका क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । यो क्रम भोलिसम्म जारी रही शनिबारदेखि मौसम सफा हुने मौसमविद्ले बताएकाछन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Kanti Aarogya Hospital Nepalgunj

गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात÷वर्षाका सम्भावना रहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले खोलाहरुमा जलप्रवाह बढ्ने र यातायत क्षेत्रसमेत प्रभावित हुने संभावना रहेको भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।