‘सुशील कोइराला स्मृती भवन जसरी पनि बन्छ, कुनै शक्तिले रोक्न सक्दैन’: अध्यक्ष चौधरी


‘सुशील कोइराला स्मृती भवन जसरी पनि बन्छ, कुनै शक्तिले रोक्न सक्दैन’: अध्यक्ष चौधरी

नेपालगन्ज १ असार : डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुशील कोइराला स्मृती भवन जसरी पनि बनाइ छाड्ने बताएकाछन् ।

सेतोखरीसंग मङ्गलबार विहान विशेष कुराकानी गर्दै अध्यक्ष चौधरीले भने–‘डुडुवामा सुशील कोइराला स्मृती भवन जसरी पनि बन्छ, यसका लागि कुनै पनि शक्तिले रोक्न सक्दैन ।’

डुडुवा गाउँपालिका वडा नम्बर–३ बनकट्टी स्थित वडा कार्यालयको पश्चिम उत्तरतर्फ रहेको गौचर जग्गामा गाउँपालिकाले ‘सुशील कोइराला स्मृती भवन’ निर्माणको लागि शिलान्यास गर्ने क्रममा सोमबार विवाद उत्पन्न भएको थियो ।

विवाद उत्पन्न भएपछि यतिबेला स्मृती भवनको साटो सबैलाई पायक पर्नेगरि अस्पताल निर्माण गरिनुपर्ने भन्दै केही स्थानीय र राजनीतिक दलका अगुवाले बखेडा सिर्जना गरेपछि भवन शिलान्यासको काम प्रभावित बनेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

गाउँपालिका अध्यक्ष चौधरीले भने–‘म आफ्नो संकल्पमा अडिग छु । यो या त्यो ढंगबाट स्मृती भवन निर्माणमा कसैले पनि छेक्न र रोक्न सक्दैन ।’ उनले भने–‘गत वर्ष असारको गाउँसभाबाट सर्वसम्मतले स्मृती भवन र पार्क बनाउने निर्णय गर्दै बजेट समेत विनियोजन गरिसकेकोछ ।’

‘३२ जनाको हाउसले सर्वसम्मतरुपमा पास गरेको निर्णय मान्नेकी नमान्ने ? विधि र प्रक्रिया भन्दा बाहिर जान पाइन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने–‘स्वर्गीय सुशील दाई मेरो मात्र नेता हो ? उहाँ बाँकेका नेता मात्र नभएर पूर्व प्रधानमन्त्री र संविधान निर्माता हुन्, मसंग डराएर ब्यर्थको राजनीतिक ‘इसु’ बनाइरहेकाछन् केहीले, तपाई ढुक्क हुनुहोस् स्मृती भवन जसरी पनि बन्छ ।’

अध्यक्ष चौधरीले उदाहरण दिँदै भने–‘एमालेमा हुँदा हाल नेपालगन्जका मेयर डाक्टर धवलशम्सेर राणाले त्यो बेला एमाले पार्टी कार्यालय भवन बनाउन हुने, विधि र प्रकृयामा रहेर सम्मानीत ब्यक्तित्वको स्मृति भवन बनाउन खोज्दा नदिने त्यसो पनि हुन्छ र ?’

गाँउपालिकामा स्मृती भवन भन्दा अस्पताल बनाउनु पर्ने हो त ? सेतोखरीले राखेको जिज्ञासमा गाउँपालिका अध्यक्ष चौधरीले भने–‘स्मृती भवन निर्माण र अस्पताल निर्माणको विधि प्रकृया फरक छन् । त्यो सबै बुझेर पनि केही कच्चा राजनीतिमा लागेकाछन् । यसले उनको राजनीति कता लान्छ उनीहरुले नै जानून ।’

उनले सेतोखरीसंग कुरा गर्दै अगाडी थपे–‘त्यो जमिन ऐलानी प्रति जग्गा हो । १५ शैयाको अस्पताल बनाउने भनेर विवाद उत्पन्न गरेकाछन् तर, ऐलानी जमिनमा अस्पताल बनाउन मिल्दैन । विधि प्रक्रियाले पनि यही भन्छ ।’ उनले अगाडी थपे–‘गाउँपालिकामा अस्पताल निर्माणका लागि मैले डेढ महिना अघिनै डिपिआर गर्न कन्सल्टेन्सीलाई जिम्मेवारी दिइसकेको छु । त्यो प्रक्रिया अघि बढिसकेकोछ । गाउँपालिकामा अस्पताल पनि बन्छ, स्मृती भवन पनि बन्छ यसमा दुईमत छैन ।’

बनकट्टिमा सुशील कोइराला स्मृती भवनसंगै पार्क निमार्णका लागि गाउँपालिकाले गाउँसभाबाट सर्वसम्मतरुपमा पारित गरि बजेट समेत विनियोजन गरिसकेकोछ ।

सर्वसम्मतरुपमा पारित भएको निर्णयलाई टेकेर विधि, प्रक्रिया तथा कानूनी आधारमा जसरी पनि स्मृती भवन बनाई छाड्नेमा गाउँपालिका अध्यक्ष चौधरी लागिपरेकाछन् ।
यसैबीच, स्मृती भवन निर्माण सम्बन्धि सिर्जित विवाद समाधानका लागि आज जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षिय बैठक बस्न लागेको समेत अध्यक्ष चौधरीले सेतोखरीलाई जानकारी दिए ।