मिडियाको अवस्थाबारे सुदूरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रम


मिडियाको अवस्थाबारे सुदूरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रम

नेपालगन्ज १ असार : कोरोना (कोभिड–१९) को महामारीमा पत्रकारको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा आज सुदूरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका संयोजक एवं सदस्य हरीप्रसाद जोशीले प्रदेशभरका पत्रकारको अवस्था, पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिन कार्यक्रम राखिएको बताए । उनले महामारीमा बन्द भएका पत्रिका वर्गीकरणमा छुट दिनुपर्ने, अनलाइनलाई लोककल्याणकारी विज्ञापनको लागि पहल गरिने बताए । वरिष्ठ पत्रकार जोशीले भ्रमपूर्ण सामग्री दिने मिडियालाई कारबाही हुने भन्दै निष्पक्ष भएर पत्रकारिता गर्न सुझाव दिए ।

पत्रकारहरूले स्वास्थ्य जोखिममा राखेर फिल्डमा खटिने पत्रकारको सुरक्षाको लागि कोरोना खोप दिनुपर्ने, पत्रकारलाइ आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहात बढाउनुपर्ने, अनलाइनलाई लोककल्याणकारी विज्ञापनको लागि पहल गर्नुपर्ने लगायतका विषय उठाएका थिए ।

कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले जस्तोसुकै विषम परिस्थितिमा पनि काउन्सिल पत्रकारको साथमै रहने बताए । उनले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्ने भन्दै अध्यक्ष बस्नेतले लोककल्याणकारी विज्ञापनको रोकिएको रकम निकासाको लागि सम्बन्धित निकायलाई घच्चघचाउने बताए ।

कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र्र भुसाल, महासङ्घ प्रदेश महासचिव रामसिंह ठगुन्ना, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशी, कञ्चनपुर अध्यक्ष माधवसिंह धामि लगायत ३५ जना पत्रकारहरूको सहभागिता थियो ।