नेपालगन्ज ३ असार : मनसुन सक्रिय हुनबित्तिकै सुरु भएको झरी अझै पनि जारी छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागको भनाइ छ ।
प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू–भागमा भारि वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यसैबीच, अझै केही दिन पानी पर्ने भएको छ । मंगलबार र बुधबारको तुलनामा केही कम वर्षा हुने तर नरोकिने मौसमविद् बताउँछन् ।