नेपालगन्ज: प्रदेश पाँचका प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले लागुऔषधको प्रयोग, ब्यापार बढ्दै गएकोमा चिन्ता ब्यक्त गरेकाछन् ।
उनले लागुऔषधको प्रयोगको संख्या र यसका ब्यापारमा कडाई गरिएपनि बैध व्यवसायबाट अबैध ब्यापार भइरहेको बताए ।

बिहीबार लागुऔषध दुव्र्यसनी विरुद्धको कार्यक्रम अन्र्तगत आयोजित समुदाय स्तरीय सचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख डिआइजी अधिकारीले भने– प्राकृतिकरुपमा प्राप्त लागुऔषध रोकथाममा सक्रिय भएता पनि पछिल्लो समय लागुऔषध प्रयोगकर्तामा ट्रेण्ड बदलिएकोछ । बैधरुपमा उत्पादन हुदै आएका विभिन्न औषधीलाई पछिल्लो समय लागुऔषध प्रयोगकर्ताले आफ्नो खुराक बनाइरहेकाछन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने खुला सीमानाका कारण लागुऔषध प्रयोगकर्ता रोकथाम गर्न नेपालगन्जमा जटिल देखिएको भन्दै सरकारी संयन्त्रको एकलप्रयासले सम्भव नहुने डीआइजी अधिकारीले भनाई राखे । उनले भने –‘अधिकांस अपराधिक गतिविधिमा लाग्नेहरु लागुऔषधको दुव्र्यसनीमा फसेका हुन्छन् । त्यसैले सवैले नयाँ दुव्र्यसनीकर्ता उत्पादन नहुन भन्नका लागि घरबाटै नियन्त्रणमा जोड दिनुपर्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले लागुऔषध दुव्र्यसनीको जोखिममा बालबालिका बढि हुनेभएकाले आफ्ना बालबालिकाको आनीबानी, संगत र झोला ब्याग लगायतका सामाग्री बेलाबखत जाँच गर्नुपर्ने बताईन् ।
उपमेयर थापामगरले कुलतमा फसिसकेपछि गरिने उपचार भन्दा बेलैमा सावधानी अपनाएर त्यसको रोकथाममा अग्रसर हुनुपर्नेमा जोड दिईन ।
नेपालगन्ज उपमहानगरपालिका १ नम्बर वडा समितिको कार्यालयको आयोजनामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका प्रवक्ता एवं १ नम्बर वडा अध्यक्ष प्रमोद रिजालले वडामा लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्न विभिन्न खाले कार्यक्रमहरु आयोजना गर्ने बताए ।

उनले भने लागुऔषधको दुव्र्यसनीमा फसेकाहरुको जीवन बबार्द मात्र हुदैन उनीहरुसंग जोडिएकाहरुको पनि जीवन तहसनहस हुने भएकाले विद्यालय तथा समुदायस्तरबाटै युवा, बालबालिकालाई सचेतिकरण गरिने बताए ।
जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नमन नेपाल तथा आधादर्जन बढि सुधार केन्द्रको सहजिकरणमा नेपालगन्ज स्थित धम्बोझी माध्यमिक विद्यालयमा सो कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रक नेपालगन्जकी अध्यक्ष सशी स्वाँरले जानकारी दिइन् ।
