अस्ताए नेपालको जन निर्वाचित पहिलो दलित समुदायका सांसद परियार


अस्ताए नेपालको जन निर्वाचित पहिलो दलित समुदायका सांसद परियार

नेपालगन्ज ४ असार : बाँकेका पूर्व सांसद कृष्णसिंह परियारको निधन भएकोछ । लामो समयदेखि सुगर र प्रेसरबाट ग्रसित पूर्व सांसद परियारको शुक्रबार विहान साढे ७ बजे ६८ वर्षको उमेरमा निधन भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालका अनुसार नेपालगन्जस्थित उनको घरमै निधन भएको हो । २०४८ सालको निर्वाचनमा बाँकेको क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका स्वर्गीय परियार राज्य व्यवस्था समितिको सभापति समेत बनेका थिए ।

नेपाली काँग्रेसका पूर्व सभापति एवम पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियार इमान्दार र निर्भिक नेताका रुपमा परिचित छन् । यसैबीच, नेपाली काँग्रेस बाँकेले आज १२ बजे पार्टि कार्यालय नेपालगन्जमा परियारको अन्तिम श्रद्धाञ्जली सभा गर्दैछ ।

नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य एबम युवा नेता सुधाम्सु कोइरालाका अनुसार काँग्रेस बाँकेको पार्टी सचिव समेत बनिसकेका सांसद परियारको दाहसंस्कार नेपालगन्ज स्थित हिन्दू संसानघाटमा गरिने जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

नेता कोइरालाका अनुसार स्वर्गीय परियारका ४ छोरा, २ छोरी र २ श्रीमती रहेकाछन् ।

बाँकेको डुडुवा गाउँपालिकाको कम्दि स्थित सिधनिया घाटमा दाहसंस्कार गर्ने भनिएपनि मौसमको प्रतिकुल कारण नेपालगन्ज बुलबुलिया स्थित हिन्दू संसानघाटमा दाहसंस्कार गरिन लागेकोहो ।

यसैबीच नेपाली काँग्रेस बाँकेले सांसद परियारको निधनप्रति गहिरो दुःख प्रकट गर्दै नेपाली काँग्रेसको फेसबुकमार्फत श्रद्धाञ्जली ब्यक्त गरेकोछ ।

‘नेपालको जन निर्वाचित पहिलो दलित समुदायको सांसद आदरणीय कृष्ण सिंह परियार रहनुभएन । २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर– ३ बाट निर्वाचित नेपाली काँग्रेसका नेता परियार तत्कालीन संसदमा राज्य ब्यवस्था समितीको सभापति जस्तो महत्वपूर्ण पदमा रहेर जिम्मेवारी निभाउनु भएको थियो ।’ नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाद्वारा जारी शोक वक्तब्यमा भनिएकोछ ।

‘बिपिको प्रजातान्त्रिक समाजवाद प्रति प्रतिबद्ध नेता परियार पञ्चायती ब्यवस्थाको बिरुद्धमा संघर्ष गर्दा धेरै दुःख कस्ट ब्यहोर्दै जेल नेल खानु भएको थियो । जातीय विभेद बिरुद्धका अग्रणी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा श्रद्धय कृष्ण सिंह परियारज्यु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार जन प्रति हार्दिक समबेदना प्रकट गर्दछु ।’ शोक वक्तब्यमा भनिएकोछ ‘नेता परियारको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेस बाँकेको कार्यालयमा आज दिनको १२ः०० बजे देखि १ः०० सम्म श्रद्धाञ्जली सभा राखिने कार्यक्रम रहेकोले प्रजातन्त्र प्रेमी सम्पूर्ण नेता तथा कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गर्दछौं ।’