‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ : मेयर राणा


‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ : मेयर राणा

नेपालगन्ज २ साउन : प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिर्वतनको विषय उठाउनु गलत नभएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले बताएकाछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला राप्रपाका नेता समेत रहेका मेयर डाक्टर राणाले यस्तो बताएका हुन् ।

राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताए ।

राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषयले पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नर्गन समेत आह्वान गरेका छन् ।
उनले शनिबार दिउँसो आफ्नो सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै लेखेकाछन्– ‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’

Kanti Aarogya Hospital Nepalgunj

राणाले सामाजिक सञ्जाल ट्विटरमा अगाडी लेखेकाछन्–‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन् ।
राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’

महाधिवेशन उन्मुख राप्रपामा राणाले यसअघि नै राप्रपाको अध्यक्ष पदमा दावी गरिसकेका छन् । उनले यस्तो दावि गरिरहदाँ यसअघि गठन गरिएको केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समितिमा समेत राणालाई आउट गरिएको थियो ।

पार्टीको विधान तथा एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको भनिएपनि पुस्तान्तरणको एजेण्डा उठाउने नेताहरुलाई राप्रपाले साइड लगाउँदै अघि बढिरहेकोछ । जसले गर्दा राप्रपामा यतिबेला युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाइरहेकोछ ।