नेपालगन्ज १९ साउनः नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मङ्गलबार साईकल हस्तान्तरण गरिएको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षाविद् किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गरे ।
नगर प्रमुख राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालन गरेको र छात्रा कलेज सञ्चालनको तयारीमा लागेको जानकारी दिए ।
कन्या विद्यालय पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिब तथा विपन्न समुदायका अधिकाँश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन् । साईकल प्राप्त गरेपछि विद्यालय आवतजावतमा सहजता हुने अपेक्षा गरिएको उपप्रमुख थापा मगरले जानकारी दिइन् ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न छात्रहरुलाई साईकल वितरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले यसअघि १६८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि साईकल सहयोग गरेको थियो ।