‘फर्जी क्रियाशिल सदस्यता बाँडिएको छैन’ : नेका क्षेत्रीय सभापति खत्री

‘काँग्रेस कार्यकर्तालाई सदस्यता वितरण गरिएको छ, कसैलाई भ्रमित नपारौं’


‘फर्जी क्रियाशिल सदस्यता बाँडिएको छैन’ :  नेका क्षेत्रीय सभापति खत्री

कोहलपुर २० साउन: नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति माधवराम खत्रीले फर्जी क्रियाशिल सदस्यता कसैलाई वितरण नगरिएको बताएकाछन् । तीन दशकभन्दा बढि समयदेखि काँग्रेसमा लागिपरेका क्षेत्रीय सभापति खत्रीले दिनै पर्ने काँग्रेस कार्यकर्तालाई सक्रिय सदस्यता दिइएको बताए ।

काँग्रेस बाँकेका खम्बा मानिएका क्षेत्रीय सभापति खत्रीले भ्रामक प्रचार नर्गन र नगराउन जिल्लाका अन्य काँग्रेस नेतालाई आग्रह गर्दै त्यस्तो प्रचारका पछि नलाग्न समेत काँग्रेस कार्यकर्तालाई अनुरोध गरे ।

आसन्न १४ महाधिबेसनमा काँग्रेस बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारीको तयारी गरेका खत्री निकै बलियो उम्मेदवार मानिन्छन् । ‘आउँदो महाधिबेशनका लागि वहाँ(खत्री) निकै बलियो उम्मेदवार हो । जनतामा परिचित लोकप्रिय ब्यक्ती हुनुहुन्छ माधव जी ।’– काँग्रेस बाँकेका एक नेताले भने –‘वहाँको लोकप्रियता देखेर काँग्रेस भित्रै एकथरिले डाहा गरिरहेकाछन् ।’

नेपाली काँग्रेसको १४ औं महाधिबेशनको मुखमा बाँकेमा क्रियाशिल सदस्यता वितरणका विषयमा आरोप–प्रत्यारोप चलिरहेको छ । विशेषगरी बाँकेको क्षेत्र नम्बर १ मा क्रियाशिल सदस्यता वितरण सम्बन्धमा केही समयदेखी आरोप–प्रत्यारोप जारी छ ।

Kanti Aarogya Hospital Nepalgunj

क्षेत्रीय सभापति खत्रीविरुद्ध एउटा पक्ष खुलेरै लागेको छ । खत्रीले आफुविरुद्ध ‘अफवाह’ फैलाउने ती समुहको प्रतिवाद गरिरहेका छन् । क्रियाशिल सदस्यताका विषयमा कार्यकर्तालाई अनावश्यक भ्रम छर्दै एउटा समुहले अफबाह फैलाउने काम गरिरहेको क्षेत्रीय सभापति खत्री बताउँछन् ।

कोहलपुर नगरपालिका वडा नम्बर– ११ का तीन जना काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेको र उनीहरुले प्राप्त गरेको क्रियाशिल सदस्यताको विषयमा उक्त समुहले अनावश्यक अफवाह फैलाएको क्षेत्रीय सभापति सुनाए ।

उक्त वडाका ज्ञानु थारु, विमला थारु र रामदयाल यादव यही साउन १६ गते एमालेमा प्रवेश गरेका थिए । काँग्रेसमै रहँदा उनीहरुलाई वडा समितिको सिफारिसमा पार्टीले नयाँ क्रियाशिल सदस्यता प्रदान गरेको थियो । पार्टीको जिम्मेवारीमा आईसकेपछि क्रियाशिलता, ब्यक्तित्व र कार्यक्षमताका आधारमा प्रक्रिया पुर्याएर सदस्यता दिनुलाई अस्वभाविक मानिदैन ।

केपी ओली सरकारमा रहेका बेला एमालेभित्र रुष्ट बनेका उनीहरुलाई क्षेत्रीय सभापति खत्रीले नै काँग्रेसमा प्रवेश गराएका थिए । त्यतिबेला उनीहरु सिताराम थारुको नेतृत्वमा काँगे्रेसमा प्रवेश गरेका हुन् । सितारामको कोरोना संक्रमणबाट मृत्यु भयो ।

काँग्रेस महाधिवेशनको मुखमा तिनै जना ब्यक्ति अहिले एमालेमै फर्किएपछि उनीहरुले प्राप्त गरेको सदस्यताका विषयमा प्रश्न उठाइएको छ । तर, उनीहरुले पार्टी परित्याग गर्नुअघि भन्दा करिव दुई महिना अघि (जेठ २५ गते) नै सदस्यता सिफारिस भएको तथ्य खुलेको छ ।

‘पार्टीको विधान र केन्द्रिय परिपत्र अनुसार क्षेत्र नम्बर– १ भरिका सबै वडामा क्रियाशिल सदस्यहरुको भेला र बैठकबाट नयाँ क्रियाशिल सदस्यको नामावली पठाइएको हो र त्यसैको आधारमा नगर, प्रदेशले सिफारिस गरेका नामलाई क्षेत्रले ईन्ट्री मात्रै गरेको छ, कोहलपुर–११ को सदस्यतालाई पनि सोही प्रक्रिया अनुसार ईन्ट्री गरेर पठाइएको हो,’ सभापति खत्रीले बताए ।

वास्तविक कुरा ओझेलमा पारेर क्रियाशिल सदस्यताको विषयमा क्षेत्रीय सभापतिलाई विवादमा पार्न एउटा समुह खुलेरै लागेको र भ्रमपुर्ण समाचार प्रकाशित गर्ने गरेको कोहलपुरका काँग्रेस नेता, कार्यकर्ता बताउँछन् । ‘पार्टीमै क्रियाशिल रहेको बेलामा कसैले सदस्यता पाउँछ र उसले पछि पार्टी परित्याग गरेर जान्छ भने त्यसलाई कसरी फर्जी सदस्यता दिएको भन्न मिल्छ ?’ एक नेताले भने ‘पार्टीको महाधिवेशन नजिक आईरहँदा क्षेत्रीय सभापतिलाई कसरी विवादमा ल्याउने र आफ्नो स्वार्थ पुरा गर्ने भन्ने केहीलाई चिन्ता छ ।’

क्षेत्रीय सभापति खत्रीले क्रियाशिल सदस्यता वितरणमा फर्जी काम नभएको स्पष्ट पार्दै आएका छन् । ‘फर्जी सदस्यता कसैलाई दिइएको छैन, काँग्रेसका कार्यकर्ताले नै सदस्यता पाएका छन्, आरोप लगाउने ब्यक्तिले जे पनि लगाउँछन्,’ उनले भने । कोहलपुर नगरपालिका वडा नम्बर– ११ मा तीन जना ब्यक्ति काँग्रेसमै रहँदा क्रियाशिल सदस्यता सिफारिस भएर गएको र सदस्यता प्राप्त गरिसकेपछि मात्र पार्टी परित्याग गरेको उनले स्पष्ट पारे ।

‘क्रियाशिल सदस्यहरुको भेलाको बैठकबाट गरेको निर्णयलाई क्षेत्रले काट्न मिल्दैन, त्यही अनुसार नयाँ सदस्यहरुको नाम ईन्ट्री भएको छ,’ सभापति खत्रीले भने ‘अहिले तथानाम पार्टी प्रवेश गरेको नाममा या बढी फाराम वितरण गर्यो भन्ने नाममा केन्द्रमा उजुरी हालेका छन्, ती उजुरी हाल्ने मान्छेहरुले हिजो चुनाव पनि घात गरे, अहिले क्रियाशिल सदस्यताको नाममा निहुँ खोजिरहेको अवस्था छ ।’

विगतमा पार्टीका लागि सिन्को नभाँचेका ब्यक्ति अहिले क्षेत्रीय सभापतिविरुद्ध लागेको र पार्टीको चिन्ता गर्न थालेको उक्त क्षेत्रका काँग्रेस कार्यकर्ताहरु बताउँछन् ।
‘क्षेत्रीय सभापतिले क्षेत्र नम्बर– १ मा पार्टीको काममा कति पसिना बगाउनु भएको छ, भन्ने कुराको मुल्यांकन त आम कार्यकर्ताले गर्नु भएकै छ,’ एक कार्यकर्ताले भने ‘कार्यकर्तालाई उल्लु बनाउने, ठग्ने, ढाट्ने र दलाली गर्ने ब्यक्ति अधिबेशनको मुखमा पार्टीभित्र हावी हुन थालेका छन्, यसमा सबै कार्यकर्ता चनाखो हुन जरुरी छ ।’

क्षेत्रीय सभापति खत्रीलाई विगतको प्रतिनिधी सभा निर्वाचनमा हराउन प्रमुख भुमिका खेल्ने ब्यक्ति र समुह नै अहिले आएर पार्टीको अधिबेशन नजिक आउँदा सक्रिय भइरहेको र कार्यकर्तामाझ विभिन्न खालका भ्रमहरु छर्ने काम गरिरहेको क्षेत्र नम्बर–१ का आम कार्यकर्ता बताउँछन् ।