पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम


पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम

नेपालगन्ज २० साउनः नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ३ दिने पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम बुधबार सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो उद्धारकर्ता समुदाय आफै रहेको बताउँदै उनीहरुको क्षमता विकासमा नेपाल रेडक्रसले गरेको योगदानको प्रशंसा गरे ।

बाढी विपद्को पूर्वतयारी गर्ने क्रममा समुदाय स्तरका व्यक्तिहरुलाई दक्ष बनाउने अभिप्रायले आयोजित प्रशिक्षणमा पानीजन्य आपत्काल, स्थानीय साधन श्रोतको प्रयोग गरी उद्धार गर्ने विधि, रबरबोट चलाउने तारिका र घाइते व्यक्तिहरुलाई प्राथमिक उपचार गर्ने विधि लगायत विषयमा प्रशिक्षण दिएको मुख्य प्रशिक्षक शसस्त्र प्रहरी बल शम्शेरगञ्जका सई टेकप्रसाद आर्चायले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति÷आपत्कालनीन कार्य सञ्चालन केन्द्रको समन्वयमा भएको उक्त तालिममा डुडुवा र खजुरा गाउँपालिका अन्र्तगत विपद् प्रभावित क्षेत्र भित्रका समुदाय र सोही वडामा रहेको प्रहरी चौकीका प्रतिनिधि गरी २४ जनाको सहभागिता रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सहभागीहरुले पहिले पनि उद्धार गर्दै आएको भए पनि लाइफ जाकेट, रोप (डोरी) जस्ता उद्धार सामग्री नहुने र केही उपलब्ध भए पनि सही तारिकाबाट प्रयोग गर्न नजानेको हुदाँ जोखिम लिएर उद्धार गरेको अनुभव सुनाउँदै अबका दिनमा आफ्नो प्रथम सुरक्षा गर्दै सिकाइएको विधि अनुसार उद्धार गर्न सक्षम भएको बताएका छन् ।

तालिममाको अन्तिम दिनमा डुडुवा गाउँपालिका वडा नम्बर– ५ ननपुर्वा स्थित पोखरीमा सीप परिक्षण अर्थात कृत्रिम घटना अभ्यास समेत गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, शसस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अशोक बम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपाने, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी लगायतको उपस्थिति रहेको थियो भने सहजकर्ताहरुमा शसस्त्र प्रहरी बलका टेकप्रसाद आर्चाय, रमेश थापा, रेडक्रसका दोलखबहादुर डाँगी, रुपन ज्ञवाली र प्रहलाद विश्वकर्मा रहेका थिए ।