नेपालगन्ज २४ साउनः नेपाल एकेडमी अफ, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथन) को कलेज निर्माण कार्य अघि बढ्ने भएकोछ ।
कलेज निर्माणमा स्थानीयले अवरोध गरेपछि रोकिएको निर्माण कार्य सर्बदलिय, सर्वपक्षिय छलफलपछि समाधान हुँदा निर्माण कार्य अगाडि बढ्ने भएको हो ।
नेपालगन्जको बसुदेवपुरमा नाथन कलेज निर्माणको प्रस्ताव गरिएको थियो । नेपालगन्ज उपमहानगर वडा नम्बर–१९ मा सो कलेज स्थापना गर्नका लागि नेपालगन्ज उपमहानगरले एक विघा जग्गा उपलब्ध गराएको भए पनि स्थानीयले विरोध गर्दै आएका थिए ।
आईतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकले रहेका विबाद तथा अबरोधको समाधान गरी नाथन कलेज निर्माणको लागि बाटो खोलिएको हो ।
दुई धार्मिक समुदायले सो जमिनमा आ–आफ्नो धार्मिक प्रयोजनको लागि दाबी गरेपछि बिबाद हुँदा निर्माण कार्य रोकिएको थियो । नेपालगन्ज उपमहानगरको बोर्ड बैठकले दुबै समुदायलाई २–२ का जमिन उनीहरुको धार्मिक प्रयोजनको लागि छुट्टाई दिएको भए पनि उनीहरुले नमानेपछि आईतबार भएको छलफलमा साविक ठाँउमा मुस्लिम समुदायलाई ४ का र सोही वडाको बनखुस्रीमा हिन्दू समुदायलाई सोही क्षेत्रफल बराबरको जमिन उपलब्ध गराउने सहमति जुटेपछि कलेज निर्माणको लागि बाटो खुलेको हो ।
सो बैठकमा बाँकेका राजनीतिक दलका प्रतिनिधि, लुम्बिनी प्रदेश सभा सदस्य मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरका प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर, सो वडाका वडा अध्यक्ष प्रशुराम बर्मा, स्थानीय धार्मिक अगुवा, नाथन सञ्चालक समितिका सदस्य अच्युत गुरागाँई, नागरिक समाजका कृष्णप्रसाद श्रेष्ठ, नाटाका श्रीराम सिग्देललगायतको सहभागिता रहेको थियो । छलफलका सहभागिले कलेज स्थापना गर्ने कार्यमा अवरोध नगर्न सुझव दिएका थिए ।