नेपालगन्ज ३ भदौ : कार्यालयले प्रवाह गर्ने सेवालाई सहि रुपमा बाहिर ल्याई सूचनामैत्री कार्यालय स्थापीत गर्न बाँकेका सूचना अधिकारीलाई प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्देशन गरेका छन् ।
१५ औं राष्ट्रिय सूचना दिवसका अवसरमा बिहीबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको सूचनाको हक प्रवद्र्धन बिषयक छलफल कार्यक्रममा प्रजिअ गेलालले यस्तो निर्देशन गरेका हुन् ।
बाँके स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरु सम्मीलित कार्यक्रममा बोल्दै प्रजिअ गेलालले सूचना अधिकारी नतोकेका कार्यालयले तत्काल सूचना अधिकारी तोक्न, त्रैमासिक रुपमा स्वस्फूर्त सूचना प्रकाशन गर्न र कार्यालयमा हेल्पडेस्क सञ्चालन गर्न उनले निर्देशन दिए ।
गैसस महासँघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रमको शुरुवातमा सूचनाको हक र सार्वजनिक निकायको दायित्वका बिषयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रस्तुतीकरण गरेका थिए ।
यसैगरी कार्यक्रममा बाँकेमा सूचनाको अवस्थाको बिषयमा बोल्दै जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख तथा सूचनाको हक कार्यान्वयन जिल्ला समितिका सचिव गोबिन्दप्रसाद पाण्डेले कोभिडका कारण धेरै कामहरु गर्न नसकिएको भएपनि राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाको सहजिकरणमा बाँकेका सूचना अधिकारीहरुलाई जुमका माध्यमबाट अभिमुखिकरण, सूचना अधिकारीहरुलाई नियमति रुपमा पत्राचार तथा समन्वय गर्दै आएको र सूचनाको अवस्थाको बिषयमा अनुगमन लगायतका कामहरु गरेको जानकारी दिए ।
कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले जुनसुकै कार्यालयले पनि मागेको सूचना प्रक्रिया अनुसार समयसीमा भित्र उपलब्ध गराउन आग्रह गरे ।
छलफलको अन्त्यमा त्रैमासिक रुपमा स्वस्र्फूत सूचना प्रकाशन गर्ने, कार्यालयमा सूचना अधिकारीको फ्लेक्स तोकिएको ढाँचामा तयार गरी टाँस गर्ने, कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने लगायतका बिषयमा सहभागिहरुले साझा सहमति जनाएका थिए ।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा बास नेपाल नेपालगन्ज, गैर सरकारी संस्था महासँघ बाँके र जिल्ला हुलाक कार्यालयको सहकार्यमा भएको थियो । कार्यक्रममा जिल्लाका ५० बढी कार्यालयका सूचना अधिकारीहरुको सहभागिता रहेको थियो ।