नेपालगन्ज: महेन्द्र राजमार्गको बाँके क्षेत्र र कोहलपुर नेपालगन्ज सडक खण्डमा केही दिन यता टिपर आतंक बढेको छ । टिपरको आतंक रोकथाम गर्न बाँके ट्राफिक प्रहरी उदासिन देखिएको छ । विकास निर्माणका कामहरु बढेसँगै निर्माण सामग्री ओसार्नको लागि टिपरको प्रयोग बढिरहेको छ ।
गत शुक्रबार दिउँसो कोहलपुर कुसुम सडक खण्डको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज नजिकै टिपरले कारलाई ठक्कर दिएको थियो ।
स्थानीय खोलाबाट निर्माण सामग्री लिएर कोहलपुर तर्फ आउँदै गरेको रा १ ख १३६७ नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको बा १८ च २३७९ नम्बरको कारलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार तिव्र गतीमा रहेको टिपरले बसलाई ओभरटेक गर्ने क्रममा आफ्नै लेनमा रहेको कारलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर कारमा सवार दुई जना घाइते भएका थिए ।
गत चैत्र २५ गते दिउँसो टिपरले कोहलपुर–नेपालगन्ज सडक खण्डको त्रिभुवन मावि अगाडि मोटरसाईकललाई ठक्कर दिएको थियो । तिव्र गतीमा रहेको टिपरले ट्राफिक प्रहरीकै अगाडि मोटरसाईकललाई ठक्कर दिएको हो ।
तिव्र गतीमा नेपालगन्ज तर्फ गइरहेको रा १ ख १३३९ नम्बरको टिपरले भे ७ प ५९६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका थिए । मोटरसाईकललाई टिपरले किचेपनी मोटरसाईकल चालक राम दयाल चौधरी घाइते भएका थिए ।
यी दुई त टिपरका कारण बाँकेमा भएका प्रतिनिधिमुलक दुर्घटना मात्र हुन् । पछिल्लो समय जिल्लामा टिप्परका कारण भएका दुर्घटना बढ्दै जान थालेका छन् । अन्धाधुन्ध तिव्र गतिमा आउने टिपरले कतिबेला ठक्कर दिने हो र दुर्घटना हुने हो पत्तै हुँदैन । सवारी मात्रै होइन, अनियन्त्रित टिप्परका कारण आम सर्वसाधारण सडकमा पैदल हिड्न समेत डराउने गरेका छन् ।
‘तिव्र गतीमा गुद्ने टिपरका कारण सडकमा मोटरसाईकल चलाउँदा डराउनुपर्ने अवस्था छ’ कोहलपुरका हर्क महतराले भने, ‘बजार, स्कुल, बस्ती क्षेत्रमा तिव्र गतीमा हाँक्ने टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको देखिदैन ।’
यसरी मनपरी चलाउने टिप्पर चालकहरु प्रहरी अगाडि तिब्र गतिमा गुडाउँदा पनि प्रहरी भने मौन हुन्छ । छड्के जाँच गर्ने नाउमा एकान्त बाटोमा गाडि रोकेर जाँच गर्ने ट्राफिक प्रहरी व्यस्त सडकमा अन्धाधुन्ध चलाउँदा पनि मौन बसेको नागरिकको गुनासो छ । यता जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका निमित्त प्रमूख प्रहरी नायव निरीक्षक ओम पौडेलले राजमार्गमा टिपरको आतंक नभएको दाबी गर्छन् ।