कोरोना सन्त्राशकाबीच जनैपुर्णिमा मनाइँदै


कोरोना सन्त्राशकाबीच जनैपुर्णिमा मनाइँदै

नेपालगन्ज ६ भदौ : कोरोना भाइरसको सन्त्रासका बीच यस वर्ष पनि आज बाँके सहित देशभरका हिन्दु धर्मावलम्बिहरुले जनैपुर्णिमा (ऋषि तर्पणी) तथा रक्षा बन्धन मनाउँदैछन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँन्छ ।

आजकै दिन नेपालको तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी (रक्षाबन्धन) बाँधेर यो पर्व मनाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यसदिन पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाशूत्र बाँध्छन् । भने गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षाशूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

यस्तो छ धार्मिक मान्यता

Kanti Aarogya Hospital Nepalgunj

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राहृमण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

यस दिन देशका यी क्षेत्रमा मेला लग्छ

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्षपनि कोरोना भाइरस संक्रमणका कारण उत्सव छैन भने कतिपय स्थानका मेला स्थगित गरिएकोछ ।

बाँकेको नेपालगन्जमा रहेको बागेश्वरी लगायत मन्दिर, ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भएकै कारण उत्सव देखिएन । बागेश्वरी मन्दिर यतिबेला दर्शनार्थीहरूले चहलपहल देख्न सकिन्छ । पहिले जतिको दर्शनार्थीको भीडभाड रहेको छैन । भने जनै फेर्न, रक्षाबन्धन बाँध्नेहरुको समेत उल्लेख्य भीड छैन ।