File Photo
नेपालगन्ज ८ भदौ : चार लेन सडक निर्माणसँगै यतिबेला खजुरा बजारको मुहार फेरिँदै गएकोछ । नेपालगन्ज–गुलरिया हुलाकी सडक विस्तार कार्यले खजुरा बजारको मुहार फेरिदैँ गएको हो ।
चार लेन सडक विस्तारले बाँके र बर्दियाको विकासमा ठूलो सहयोग पुग्ने भएपछि खजुराबासी उत्साहित बनेका छन् ।
नेपालगन्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाइदैछ । चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।
नेपालगन्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चारलेन सडक निर्माण भइरहेको छ । कालोपत्रे निर्माण गर्ने चरणमा रहेको उक्त सडक पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु भएको हो ।
सङ्घीय सरकारको ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले गत वर्षदेखि चार लेन सडक निर्माण सुरु गरेको हो । पहिलो चरणमा निर्माण शुरु गरिएको एक हजार ८०० मिटर लम्बाइको चार लेन सडकमा कालोपत्र गर्ने अवस्थामा पुगेको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।
केन्द्रीय सरकारको योजना भए पनि खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रलगायत मुख्य सडक भएकाले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय भइरहेको गाउँपालिका अध्यक्ष कक्षपतीले बताए ।
क्रमागतरूपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण सुरु भएको हो । नेपालगन्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ भने सँगसँगै नेपालगन्जको धम्बोझीबाट मैनापोखरसम्मको डिपिआर तयार गरी चार लेन सडक विस्तारको कार्य सुरु भइरहेकोछ ।
सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख हुमबहादुर एसीले यस आर्थिक वर्षमा नेपालगन्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको जानकारी दिए ।
उनले भने–‘नेपालगन्जको धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले १३ करोड बजेट छुट्याइसकेको छ ।’
उनका अनुसार नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगन्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय भएकोछ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । नेपाल सरकारको बजेटबाटै बहुवर्षीय योजनाअनुसार क्रमागतरूपमा चार लेन सडक निर्माण हुने भएको छ ।
नेपालगन्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनको लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरु गरिएको डिभिजन प्रमुख एसीले जानकारी दिए ।