टुक्रियो राप्तीसोनारी, खजुरालाई नगरपालिकामा स्तरोन्नती


टुक्रियो राप्तीसोनारी, खजुरालाई नगरपालिकामा स्तरोन्नती

नेपालगन्ज १७ भदौ : देशकै सबैभन्दा ठूलो गाउँपालिका बाँकेको राप्तीसोनारी गाउँपालिका टुक्रिएको छ । राप्तीसोनारी गाउँपालिका टुक्रिएसंगै बाँकेको राजनीतिक नक्शामा समेत हेरफेर भएकोछ ।
हेरफेर भएको बाँकेको राजनीतिक विभाजनले अब बाँकेमा एक उपमहानगरपालिका, दुई नगरपालिका र ६ गाउँपालिका सहित ९ स्थानीय तह हुनेछ ।

यो राजनीतिक विभाजन भने आगामी स्थानीय तहको निर्वाचनमा हेरफेर हुनेछ । यसअघि नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर, त्यसबखत निर्वाचन कार्यक्रम अघि बढिसकेकोले कार्यान्वयन भएको थिएन । राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी अलग–अलग भएकाछन् ।

नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको उल्लेख छ ।

आगाी निर्वाचनमा चुनिएर आउने गाउँ सभा तथा नगरसभाले निणर्य गरेबमोजिम हुनेबाहेक हाललाई स्थानीय तह र वडाको सीमाना निर्धारण गरी थप, हेरफेर तथा स्तरोन्नती भएका इकाइहरुको केन्द्र निर्धाण गरिएको राजपत्रमा उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

जसअनुसार बाँकेको खजुरा गाउँपालिका अब नगरपालिका बनेको छ । साविकको बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाविसहरु रहेका छन् । गाउँपालिकामा पनि यीनै गाविसहरु समावेश थिए । नगरपालिकाको क्षेत्रफल १०१.९१ वर्ग किलिोमटर छ भने जनसंख्या ५० हजार ९ सय ६१ रहेको छ ।

नगरपालिकामा स्तरोन्नती भएको खजुरा नगरपालिकाको वडा संख्या ९ रहेको छ भने पूर्वमा जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत रहेकोछ । प्रस्तावित केन्द्र बागेश्वरी गाविसको कार्यालय तोकिएकोछ ।

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिकाको रुपमा स्थापित भएको थियो ।

यस्तै राप्ती गाउँपालिकामा साविक खासकुश्मा, कचनापुर र महादेवपुरी गाविस रहेनछ । यहाँ २३४१७ जनसंख्या रहेको छ भने ७९०.३१ वर्ग किमी क्षेत्रफल रहेकोछ । यसको सीमाना पूर्वमा दाङ, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला तथा दक्षिणमा सोनारी गाउँपालिका र भारत रहेकोछ । साविक कचनापुर गाविसको कार्यालयलाई प्रस्तावित केन्द्र मानिएकोछ । यहाँ ६ वटा वडा रहेकाछन् ।

अब नयाँ बन्ने सोनारी गाउँपालिकामा बैजापुर, विनौना र फत्तेपुर गाविस रहेनछन् । जहाँ ३६५२९ जनसंख्या रहेको छ भने २५१.४१ वर्ग किमी क्षेत्रफल रहेकोछ । साविक विनौना गाविसको कार्यालयलाई प्रास्तावित केन्द्र तोकिएकोछ । यसको सीमाना पूर्व र उत्तरमा राप्ती गाउँपालिका, पश्चिममा डुडुवा गाउँपालिका तथा दक्षिणमा नरैनापुर र डुडुवा गाउँपालिका रहेकोछ । भने वडा संख्या ५ रहेकोछ ।
२०७४ सालमा नगरपालिका घोषणा गरिएपनि कार्यान्वयन हुन सकेन । अब आगामी चुनावमा भने २०७४ जेठ २८ को निणर्यअनुसार चुनाव हुनेछ ।

जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लका अनुसार यो निणर्य भने आगामी निर्वाचनबाट लागू हुनेछ । सामाजिक विकास अधिकृत मल्लले भने–‘राजपत्रमा प्रकाशित निणर्य त्यतिखेर कार्यान्वयन नभएकोमा अबको निर्वाचनबाट कार्यान्वयन हुनेछ ।’

यस्तै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले राजपत्रमा प्रकाशित निणर्य कार्यान्वय हुनेमा पूर्ण आशाबादी रहेको बताए । उनले भने–‘राजपत्रमा आइसकेको कुरा जसरी पनि कार्यान्वयन गर्नुपर्छ । हामी त्यसैअनुसार अघि बढ्छौँ ।’