लुम्बिनी प्रदेशका मन्त्री चौधरीले गरे बाँकेको पर्यटकीय क्षेत्रको निरीक्षण


लुम्बिनी प्रदेशका मन्त्री चौधरीले गरे बाँकेको पर्यटकीय क्षेत्रको निरीक्षण

नेपालगन्ज १९ भदौ : लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामीण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले शनिबार बाँकेको पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ३ मा रहेको प्रशिद्ध धार्मिक तिर्थस्थल भूवर भवानी मन्दिर क्षेत्रको उनले निरीक्षण गरेका हुन् ।

मन्दिर दर्शन गरिसकेपछि निरीक्षणका क्रममा मन्त्री चौधरीले भूवर भवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । दाङसँग सीमा जोडिएको राप्ती सोनारी जनसंख्याको हिसाबले देशकै ठुलो गाउँपालिका हो ।

राप्ती नदीको दुबैतर्फ गाउँपालिकाका विभिन्न वडा रहेका छन् । राप्ती सोनारीको वडा नम्बर– १ कुसुमदेखी वडा नम्बर– २ अगैयासम्म र्याफ्टिङ सञ्चालन गर्न मन्त्रालयले आवश्यक कार्य अगाडी बढाउने उनले सुनाए ।

‘कुसुमलाई पर्यटन क्षेत्रसँग जोड्ने हो भने राप्तीलाई प्रयोग गर्नुपर्छ, राप्तीलाई प्रयोग गर्दा यहाँबाट अगैयासम्म र्याफ्टिङ सुरु गर्ने हामीले घोषणा गरेका छौं,’ उनले भने –‘यसबाट यहाँका ब्यवसायीलाई ठुलो फाईदा पुग्नेछ र पश्चिम नेपालको कर्णालीपछिको पहिलो रयाफ्टिङ राप्ती नदीमा हुनेछ भन्ने मैले आशा गरेको छु ।’

Kids Festival 2022
kanti aarogya hospital

यस्तै सिचाइँका लागि राप्ती नदीलाई जतिसक्दो उपयोग गरेर लिफ्ट सिचाइँ योजना लागु गर्न आवश्यक पहल गर्ने मन्त्री चौधरीले प्रतिवद्धता जनाए ।

‘मेरो मन्त्रालयले खासगरी तीन वटा कुरा हेर्छ, एउटा पर्यटन हेर्छ, शहर र गाउँको सडक तथा नाला र खानेपानीलाई हेर्छ,’ उनले भने ‘राप्ती सोनारी गाउँपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार प्रदेश सरकारले सहयोग गर्ने कुरा पनि यहाँहरु समक्ष राख्न चाहन्छु ।’ लुम्बिनी प्रदेशमा तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले गरेका थुप्रै बेथिती रहेको र तिनलाई ठिक गर्दै आफुहरु अगाडी बढ्नुपर्ने स्थिती रहेको सुनाए ।

‘नेपाली काँग्रेस साढे तीन वर्ष गुम्सिएर बसेको अवस्थामा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आशा पलाउनु एकदमै मलाई लाग्छ जायज हो, तर हामीसँग सिमित साधन स्रोत छ, त्यसलाई ब्यवस्था गर्दै हामी अगाडी बढ्नुपर्ने स्थिती छ, पक्कैपनि तपाईहरुको आशा धेरै छ, त्यो आशालाई हामी सकेसम्म पुरा गर्ने कोसिस गर्छौ,’ मन्त्री चौधरीले थपे ।

केन्द्र र प्रदेशको सत्तामा जान नेपाली काँग्रेसले कल्पना नै नगरेको भन्दै उनले केपी ओलीकै कुकर्ममले गर्दा झण्डै दुई तिहाईको सरकार ढलेको र कांग्रेससहित चार दल मिलेर नयाँ सरकार गठन गरेको प्रष्ट पारे । ‘पक्कैपनि हिजोको बेथितीहरु, हिजो ओली जीले गरेका बेथितीलाई ठिक गर्दै हामी अगाडी बढ्नुपर्नेछ,’ उनले भने ।

नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनको तयारीमा रहेको र अहिले पार्टीको चुनावलाई नै लक्षित गरेर अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

‘अधिबेशनलाई पनि सहजताको साथ प्रजातान्त्रिक प्रणालीबाट अगाडी बढाउनुस्, किनभने यसले गर्दा स्थानीय चुनाव नहारोस्, यसले गर्दा संघिय चुनाव नहारोस्, यसले गर्दा प्रदेश चुनाव नहारोस् ।’ सो क्रममा राप्तीसोनारी १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीले विभिन्न मागसहितको ज्ञापन पत्र मन्त्री चौधरीलाई बुझाएका थिए ।

मन्त्री चौधरीलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ कुसुम र वडा नम्बर २ अगैयामा काँग्रेस नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधी, सर्बसाधारण लगायतले स्वागत गरेका थिए ।

सो क्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति फुलाराम थारु, जिल्ला सचिव तप्त पौडेल, क्षेत्र नम्बर– १ का सभापति माधवराम खत्री, जिल्ला सदस्य नारायण प्रसाद गौडेल, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु, नेपाली काँग्रेस केन्द्रिय यातायात विभागका सदस्य यमबहादुर खड्का, काँग्रेसका क्षेत्रीय सचिव डिल्ली गिरी, काँग्रेस नेतृद्वय संगिता चौधरी र संगिता सुवेदी, काँग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्री, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, दलित संघ बाँकेका अध्यक्ष कृष्ण बिक, शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावत, वडाका जनप्रतिनिधी, काँग्रेसका नेता तथा कार्यकर्ता लगायतले स्वागत गरेका हुन् ।

काँग्रेस प्रदेश मन्त्री भएपछि पहिलो पटक आएका चौधरीलाई स्वागत गरिएको हो । मन्त्री चौधरीको उपस्थितीमा शनिबार नै नेपाली काँग्रेस राप्तीसोनारीले पनि एक कार्यक्रम गरेको छ ।