नेपालगन्ज: गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या भएको माईती पक्षले दावी गरेको छ । नेपालगन्जमा पत्रकारहरुसँग कुरा गर्दै रुक्सराका बुवा ईस्लाम अहमद कुरैसीले दाईजो नपाएको भन्दै छोरीको हत्या गरिएको दावी गरेका छन् ।
घरपरिवारले तीन लाख र एउटा पल्सर मोटरसाइकल दाईजो ल्याउन दबाब दिइरहेका थिए । बुवा ईस्लामले ज्वाँईले भने बमोजिम दिन पनि तयार रहेको र जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाईजो दिने मनसायमा पुगेका थिए ।
हत्या भएको एक घण्टाअघि छोरीसँग कुराकानी गर्दै बुवा ईस्लामले भनेका थिए, ‘म भोली नै कैलाली आएर छलफल गर्छु । जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नु ।’ तर, केही घण्टापछि फेरि फोन गर्दा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बुवा ईस्लामले छोरीलाई मारेर झुण्ड्याइएको दाबी गर्दै भने, ‘मैले हत्या हुनुअघि छोरीसँग फोनमा कुरा गरेको थिए । घरपरिवारको अगाडि नै रहेकी रुक्सरा मसँग पनि राम्ररी बोलेकी थिइनन् ।’ माईती पक्षका अनुसार, घरपरिवारले दैनिक ‘टर्चर’ दिइरहेपछि रुक्सराले दुई दिनदेखि खाना समेत खाएकी थिइनन् ।
‘होचो टीनले छाएको कोठामा बस्छन् । त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन । त्यसमा पनि सबै घरपरिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्,’ बुवा ईस्लामले भने, ‘सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो ।’ दाईजो दिन्छु भन्दा पनि छोरीको हत्या गरिएको उनको दावी छ ।
भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सरा गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । नौ महिनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको दावी गरिरहेको छ, भने माईती पक्षले हत्या भएको बताईरहेको छ ।