नेपालगन्ज: लागु औषधसहित पक्राउ परेका मेडिकल कलेजका विद्यार्थीलाई मङ्गलबार म्याद थप गरि थुनामा राखिएकोछ । बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा अध्ययनरत धनगढीका निशान चन्द र भारत(राजस्थान)का अंकुर शर्मालाई सोमबार बेलुका साढे ९ बजे प्रहरीले लागुऔषध सहित आफ्नो नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका मेडिकल कलेजका विद्यार्थीद्वय चन्द र शर्मामाथि थप अनुसन्धान गर्न प्रहरीले म्याद थप गरेको बाँके प्रहरी प्रमुख अरुण पौडेलले बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत विद्यार्थीद्वय लागु औषध सेवनकर्ता हुन वा ओसारपसार गरेका हुन भन्ने कुरा अनुसन्धानले खुलाउने प्रहरी प्रमुख पौडेलले बताए ।
पक्राउ परेका २६ वर्षीय निशान चन्द चौथो वर्ष र २५ वर्षीय अंकुर शर्मा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । सीमावर्ती बजार रुपैडिहाबाट नेपालगन्ज आउनेक्रममा जमुनाहाबाट उनीहरुलाई प्रहरीले पक्रिएको हो । उनीहरुबाट प्रहरीले साढे ६ ग्राम ब्राउन सुगर नम्कीनको प्याकेटमा लुकाएर ल्याइरहेको अवस्थामा पक्रेको हो ।
नेपालमा लागुऔषध कारोबार बढे
नेपालमा लागूऔषधको कारोबार दिनदिनै बढ्दो छ । लागूऔषध प्रयोगकर्ता बढेर मात्र नभई बाह्य मुलुकमा समेत ओसारपसार हुँदै आएका कारण वर्षमा ३ हजारभन्दा बढी पक्राउ पर्ने गरेका छन् । सन् २०१९ को अप्रिलसम्म मात्रै २ हजार १० जना पक्राउ परिसकेका छन् । पछिल्लो ४ महिनाको तथ्याङ्कको अनुपात हेर्ने हो भने यो वर्ष ५ हजारको सङ्ख्यामा पक्राउ पर्ने देखिन्छ ।
नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा ओसारपसारमा संलग्नहरू पक्राउ पर्ने क्रम पनि उल्लेख्य रूपमा बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । सन् २०१६ देखि सन् २०१९ अप्रिल (चार वर्ष)सम्मको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १४ हजार ५४५ जना लागूऔषध ओसारपसारमा संलग्न अपराधी पक्राउ परेका छन् । सन् २०१६ मा ३ हजार ६९६ जना, सन् २०१७ मा ३ हजार ९४१ जना, सन् २०१८ मा ४ हजार ८९८ जना र सन् २०१९ को अप्रिलसम्म २ हजार १० जना लागूऔषधको ओसारपसार र प्रयोगका क्रममा पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०१६ मा पक्राउ परेकामध्ये ३ हजार ५२८ पुरुष र १ सय ६८ जना महिला रहेका छन् । सन् २०१६ मै भारतीय नागरिक मात्र ११३ जना र २६ जना अन्य मुलुकका रहेका छन् । यस्तै सन् २०१७ मा पक्राउ परेका मध्ये ३ हजार ७८८ पुरुष र १५३ महिला, सन् २०१८ मा ४ हजार ६९७ पुरुष र २०१ जना महिला र सन् १०१९ अप्रिलसम्म १ हजार ८९२ पुरुष र ११८ जना महिला पक्राउ परेका छन् ।