क्रियाशिल सदस्यता विवादलाई लिएर अधिबेशन अन्योलमा पारियो : बाँके काँग्रेस

शनिबार बाँके बाहेक चार जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान


क्रियाशिल सदस्यता विवादलाई लिएर अधिबेशन अन्योलमा पारियो : बाँके काँग्रेस

नेपालगन्ज २ असोज : क्रियाशील सदस्यता वितरण विवादलाई लिएर अधिबेशनलाई अन्योलमा पारिएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।

काँग्रेस बाँकेका सभापति किरण कोइरालाले अधिबेशनको टुंगो नलाग्दा कार्यकर्ताहरु अहिले निकै निराश भएको बताउँछिन् । ‘विपीले सुरुवात गरेको नेपाली काँग्रेस र त्यतिबेलाका नेताहरुले जसरी यसलाई गति दिए, अब अहिले पार्टीको यो स्थिती देख्दा मान्छेहरु निराश छन्,’ उनले भनिन् । पार्टीको गतिविधिले सबै बाँकेका कार्यकर्तामा निराशा छाएको सभापति कोइरालाको भनाइ छ । कोइरालाले अगाडी थपिन्, ‘कार्यकर्ताले आफ्नो हिसाबले भोट दिन पाएका छैनन्, वडाले निर्णय गरेर पठाएको सदस्यता पाएका छैनन्, यसले गर्दा अहिले बास्तवमा निराशा छाइरहेको छ ।’ पार्टी कार्यकर्तामा उत्सुकता नै हराइसकेको कोइरालाले सुनाइन् ।

पार्टी अधिबेशन गराउने/नगराउने हात केन्द्रकै भएकाले जिल्लामा अधिबेशनको कुनै तयारी नभएको उनको भनाइ छ । ‘बाँकेका क्रियाशील सदस्यको लिष्ट अहिलेसम्म पनि फाइनल भएको छैन, हामी कुरेर बसिरहेका छौं,’ उनले भनिन् ।

नेपाली काँग्रेसले बाँकेलगायत केही जिल्लामा विवाद रहेको भन्दै त्यहाँ अधिबेशन रोकेको छ । बाँकेको क्रियाशील सदस्य संख्या अझै एकिन भएको छैन । समयमा क्रियाशील सदस्यताको टुंगो नलाग्नु, समयमा अधिवेशन नहुनु राम्रो लक्षण नभएको नेपाली काँग्रेस बाँकेका नेता निरञ्जनसिंह सिजापति बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘यो काँग्रेसका लागि राम्रो लक्षण होइन, पहिले नै राम्रो वा नराम्रो जे जसरी भएपनि अधिवेशन टुंग्याउनुपथ्र्यो,’ उनले भने ‘पार्टीभित्र आपसमा बाझाबाझको अवस्था छ, क्रियाशीलको टुंगो नलाग्दा कुनै पनि कार्यकर्ता ढुक्क हुने स्थिति छैन, कतै मेरै नाम क्रियाशीलमा आउँछ वा आउँदैन, ढुक्क हुने अवस्था छैन ।’ पार्टी विधि र पद्दतिमा चल्नुपर्ने नेपाली काँग्रेस आफैले तोकिएको समयभित्र अधिबेशन गर्न नसक्दा आमकार्यकर्तामा निराशा छाएको नेता सिजापति बताउँछन् । ‘अधिबेशन अनिश्चितताको अवस्थाले गर्दा सबै कार्यकर्तालाई निराश पारेको छ,’ उनले भने ।

पार्टी केन्द्रले बाँकेलाई विवादित जिल्लाको सूचीमा राखे पनि यहाँका नेता, कार्यकर्ता खासै विवाद नरहेको जिकिर गर्छन् । क्रियाशील सदस्यता वितरणमा देखिएको सामान्य विवादलाई केन्द्रका नेताले नै झन् विवादमा ल्याएको अधिकांसको गुनासो छ ।

जिल्ला सभापति कोइराला पनि बाँकेमा आफूले खासै विवाद नदेखेको तर्क गर्छिन् । ‘मैले त बाँकेमा विवाद नै देखेको छैन, तैपनि यो जिल्लालाई विवादित बनाइयो,’ उनले भनिन् ‘केन्द्रको निर्देशनअनुसार वडा समिति नै पावरफुल बनाउने, वडाको निर्णय गरिसकेपछि त्यो निर्णयलाई गाउँनगरले ओके गर्छ, गाउँनगरले गरिसकेपछि प्रदेशले, प्रदेशले गरिसकेपछि क्षेत्र, जिल्ला हुँदै केन्द्रमा जान्छ, त्यहाँ केही तलमाथि पर्यो भने जिल्लाकै छानविन समितिले त्यसलाई हेर्न पाउनुपर्छ, तर, आजसम्म पनि अधिबेशन गर्नलाई सदस्यताको लिष्ट आएको छैन ।’ क्रियाशील सदस्यता वितरणको विवाद टुंग्याईदिन आफूले केन्द्रीय छानविन समितिका सदस्यलाई धेरैपटक आग्रह गरेको उनले बताइन् ।

आसन्न महाधिबेशनका लागि बाँकेबाट कति जनाको सदस्यता सिफारिस भएर गएको छ, त्यसबारे पनि आफु अनविज्ञ रहेको काँग्रेस बाँकेकी सभापति कोईराला बताउँछिन् ।

पार्टी भित्रको गुटबन्दीले पार्टीलाई नै कमजोर बनाउने उनको बुझाइ छ । यसले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीलाई प्रत्यक्ष असर गर्ने सभापति कोइराला ठोकुवा गर्छिन् ।

‘कार्यकर्ताको मनोबल खस्किरहेको छ, पार्टीमा लगानी गरेका जुन कार्यकर्ताहरु छन्, तिनलाई माईनस गरेर आफ्नो मान्छेलाई स्थापित गर्दाखेरी असर पर्छ,’ उनले भनिन् ‘वास्तविक नेपाली काँग्रेसका कार्यकर्ता थिए, तिनलाई माईनस गर्ने वित्तिकै मान्छेको उत्साह खत्तम भईहाल्छ, चुनाव आईरहेको छ, चुनावमा त मान्छेमा जुझारुपन नै हराएर जान्छ ।’

समयमै क्रियाशील सदस्यता सार्वजनिक नभएपछि यतिबेला बाँकेका काँग्रेस कार्यकर्तामा भने निराशा छाएकोछ । नेपाली काँग्रेसको १४ औं महाधिबेशनको सरगर्मी बढिरहेका बेला छिमेकी जिल्ला दाङ लगायतले आफ्ना वडा अधिबेशन सम्पन्न गरिसक्दा पनि बाँकेको अधिबेशन अन्योलमै परेको छ । अधिबेशन गर्ने टुंगो नलाग्दा काँग्रेस कार्यकर्ताहरु यतिबेला निराश भएका हुन् ।

काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृह जिल्लासमेत रहेको बाँके काँग्रेसमा आसन्न अधिबेशनबाट नेतृत्वमा आउन नेताहरुबीच तछाडमछाड छ । जिल्ला नेतृत्वका लागि करिब एक दर्जन नेता आकांक्षी छन् ।

यस्तै पार्टीको तीनवटा क्षेत्रीय समितिमा पनि नेतृत्वमा आउन कडा प्रतिस्पर्धा छ । आम चासोका रुपमा रहेको नेपालगन्ज उपमहानगर समितिमा पनि अहिलेसम्म तीनजना आकांक्षीको नाम चर्चामा छ ।

यसैबीच, नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद थप चार जिल्लामा मिलेको छ ।

शनिबार कैलाली, सुर्खेत, डोल्पा र सर्लाहीको क्रियाशील सदस्यता विवाद टुंगिएको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

उक्त विवादका कारण ती जिल्लामा काँग्रेसको अधिबेशन हुन सकेको थिएन । बाँकेको क्रियाशील सदस्यता विवाद पनि आजै टुंग्याउन प्रयास जारी रहेको चौधरीले बताए ।