कोभिडबाट ज्यान गुमाएका डिएसपीद्वय केसी र खरेललाई वीरता पदक

देशभर ११९ प्रहरीलाई पदक


कोभिडबाट ज्यान गुमाएका डिएसपीद्वय केसी र खरेललाई वीरता पदक

नेपालगन्ज ३ असोज : कोभिड–१९ सक्रमणका कारण ज्यान गुमाएका नेपाल प्रहरीका डिएसपीद्वय समीर चन्द्र खरेल र राजकुमार केसीलाई वीरता पदक दिने घोषणा गरिएको छ ।

सातौं संविधान दिवसका अवसरमा सरकारले दिवंगत डिएसपीद्वय खरेल र केसीलाई वीरता पदक दिने घोषणा गरेको हो ।

कोभिड–१९ बाट ज्यान गुमाउने नेपाल प्रहरीका डिएसपीद्वय खरेल र केसी नेपाल प्रहरीका काबिल र इमानदार अफिसरको रूपमा चिनिन्थे । २०७८ जेठमा नेपाल प्रहरी अस्पतालमा उनीहरूले ज्यान गुमाएका थिए ।

यसैबीच, संविधान दिवसका दिन सरकारले नेपाल प्रहरीका ११९ जनालाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा पदकको घोषणा गरेकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

मान–पदवी, अलङ्कार र पदकद्वारा सम्मान गर्ने घोषणा गरिएकामा प्रहरी कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म छन् । कार्यालय सहयोगी सूर्य कुमारी अधिकारीले राष्ट्रसेवा पदक प्रथम श्रेणी पाउने भएकी छिन् । अधिकारी महानगरीय प्रहरी पहरा गण गुल्म नम्बर–४ सामाखुसीमा कार्यरत छिन् । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गर्ने घोषणा गरिएको छ ।

डिआइजीहरू घनश्याम अर्याल, धिरज प्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, वसन्त कुमार पन्त, प्राविधिक डिआईजी डाक्टर मिनराज पाठक र डाक्टर रामकृष्ण राजभण्डारीलाई सुप्रबल जनसेवाश्रीले सम्मान गर्ने निर्णय गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू राजेशनाथ बास्तोला र उमेश राज जोशी र श्यामलाल ज्ञवाली सहित थप १० जना प्रहरी अधिकृतले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

कास्कीका एसपी रमेश थापा र धनुषाका एसपी प्रकाश रानाभाटलाई कीर्तिमय राष्ट्रदीपले सम्मान गर्ने घोषणा गरिएको छ । एसपीद्वय उमा प्रसाद चतुर्वेदी र रवीन्द्र रेग्मीलाई प्रबल जनसेवाश्रीले सम्मान गर्ने निर्णय गरिएको छ ।

प्रबल जनसेवाश्री पाउनेमा डिएसपीहरू काजीकुमार आचार्य, नरेशराज सवेदी, सुधिरराज शाही र भेषराज रिजाल छन् । इन्स्पेक्टर एलिजा गिरी र थप १६ जना प्रहरी अधिकारीले प्रबल जनसेवाश्री पाउने भएका छन् ।

सई शरण शाहलाई जनसेवाश्री प्रदान गर्ने निर्णय गरिएको छ । जनसेवाश्री पाउनेमा शाह सहित ३ जना सई, तपेन्द्र बहादुर विष्टसहित ३ जना असई, लेखबहादुर गुरुङसहित ३ जना हवल्दार र प्रहरी जवान अमर राज मिश्र छन् ।

संखुवासभामा भएको ६ जनाको सामूहिक हत्याबारे अनुसन्धान गरेका एसपी भीम दाहाल सहित चारजना एसपीलाई नेपाल प्रताप सुभूषण प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल प्रताप सुभूषण पाउनेमा निरञ्जन दत्त भट्ट सहित ६ जना डिएसपी छन् । यमकुमार श्रेष्ठ र लक्ष्मी खनाल सहित ११ जना इन्सपेक्टरलाई पनि नेपाल प्रताप सुभूषण दिने घोषणा गरिएका छ ।

निर्मला पन्त बलात्कार–हत्या अनुसन्धान गरिरहेका डिएसपी पञ्च कुमार बाखुसहित २५ जना प्रहरीलाई नेपाल प्रताप आभूषण दिने घोषण गरिएको छ । नेपाल प्रताप आभूषण पाउनेमा प्राविधिक तर्फका एसपी नरेश बहादुर मल्ल, इन्स्पेक्टर अनिल कुमार अधिकारी र प्रहरी नायव निरीक्षक (सई) रमेश बजगाईसहित २५ जना अधिकृत छन् ।

विजय कुमार दास सहित ७ जना हवल्दार र सुनिता बिक सहित ७ जना जवानलाई नेपाल प्रताप भूषण प्रदान गर्ने घोषणा गरिएको छ । उसु खेलाडी तथा प्रहरी सहायक निरीक्षक (असई) जुनी राईलाई सुकीर्ति पदक प्रदान गर्ने घोषणा गरिएको छ ।