‘जनचासो उन्मुख पत्रकारिता हुन सकेन’


‘जनचासो उन्मुख पत्रकारिता हुन सकेन’

नेपालगन्ज ८ असोज : पछिल्ला दिन डेस्क र व्यवस्थापन पक्षका अनुसार समाचार सम्प्रेषण भइरहेकाले जनचासो उन्मुख पत्रकारिता हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएकाछन् । जनचासोका विषयमा समाचार सम्प्रेषण गरिनुपर्ने भन्दै उनीहरुले पत्रकारितालाई जनमुखी बनाइनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजनामा नेपालगन्जमा शुक्रबारबाट आयोजित जनचासो सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको अभिमुखिकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले जनचासोका विषयमा पत्रकारलाई अभिमुखिकरण गर्न एकदमै जरुरी रहेको बताए ।

महासंघमा आफुहरु निर्वाचित भएर आइसकेपछि पत्रकारका लागि क्षमता विकास लगायत सम्बन्धी कार्यक्रम ल्याइएको बताउँदै उनले यस्ता खाले अभिमुखिकरण कार्यक्रम अन्य प्रदेशमा पनि गर्ने महासंघको योजना रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भने ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पत्रकारका लागि नेपालगन्जमा गरिएको हो ।’ जनचासोका रिर्पोटिङले पत्रकारिता पेशालाई मर्यादित बनाउने कोषाध्यक्ष सेजुवालको भनाई छ । पत्रकारलाई जनचासो सम्बन्धी रिपोर्टिङबारे अभिमुखिकरण गरिसकेपछि समाचार लेखनमा फेलोसिप दिने योजना पनि महासंघको रहेको सेजुवालले सुनाए ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले यसक्षेत्रका क्रियाशिल पत्रकारहरुलाई जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउन महासंघले केन्द्रिय समितिसंग समन्वय गरेर यो अवसर जुटाउन सफल भएको बताए । उनले भने–‘पश्चिम क्षेत्रकै हबको रुपमा रहेको बाँकेको समग्र पत्रकारिता र यसको विकासका लागि महासंघ गम्भीर छ । यसका लागि महासंघ सशक्तरुपमा अघि बढेकोछ ।’

अभिमुखिकरणमा सहभागि छनोटदेखि सबै काम केन्द्रिय समितिले गरेको बताउँदै शाखा अध्यक्ष भण्डारीले अगाडी थपे–‘बाँकेका पत्रकारको क्षमता विकास, पत्रकारिताको समग्र विकास र प्रर्बद्धनका लागि थुप्रै योजना पाइपलाईनमा रहेकाले यसबाट सबैजना लाभावन्तित हुनेछन् ।’

उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघका पुर्वकेन्द्रिय सदस्य एवम बाँके शाखाका पुर्वअध्यक्ष झलक गैरे, शाखाका पुर्वअध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले खोजमुलक समाचार लेख्ने भन्दापनि कपि पेस्ट गर्ने प्रवृत्ति बढिरहेकाले पत्रकारितालाई जनमुखी बनाइनुपर्नेमा उनीहरुले जोड दिए । पछिल्लो समयमा पत्रकारितामा केही विकृती पैदा भइरहेकाले यस विषयमा सशक्त भएर अघि बढ्न उनीहरुको सुझाव छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा महासंघ बाँके शाखाको संयोजनमा सुरु भएको उक्त अभिमुखिकरणमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको छ ।

दुईदिने उक्त कार्यक्रमको पहिलो दिन महासंघका केन्द्रिय कोषाध्यक्ष सेजुवालले जनचासोको रिर्पाेटिङ गर्नका लागि तीन वटै प्रदेशमा हुन सक्ने सम्भावित विषयबारे सहभागीलाई अभिमुखिकरण गरेका थिए । भने कार्यक्रममा दोस्रो दिन शनिबार वरिष्ठ पत्रकार हरिबहादुर थापाले पत्रकारलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको महासंघ बाँकेका सचिव कमल डाँगीले बताए ।