नेपालगन्ज उपमहानगरमा विष्ट, रिजाल र थापाबीच कडा प्रतिस्प्रर्धा


नेपालगन्ज उपमहानगरमा विष्ट, रिजाल र थापाबीच कडा प्रतिस्प्रर्धा

नेपालगन्ज १० असोजः बाँकेमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिएसंगै महाधिबेसनको सरगर्मी चुलिदैँ गएकोछ । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा क्रियाशील सदस्यता विवाद चुलिएपछि जिल्लामा महाधिवेशनप्रति नेता तथा कार्यकर्तामा निराशा छाएको थियो ।

नेपाली काँग्रेसले आईतबार बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको छ । यी जिल्लामा क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक भएसंगै वडा, गाँउ÷नगरको अधिबेशन सुरु हुनेछ । यसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिकको तयारी गरिएकोछ ।

क्रियाशील सदस्यता विवाद समाधानसंगै बाँकेमा महाधिवेशनको सबैभन्दा बढि चासो र चर्चा नेपालगन्ज उपमहानगरपालिकाकाको रहेकोछ ।

यतिखेर जिल्लामै सबैभन्दा बढि नेपालगन्ज उपमहानगर क्षेत्र सबैको केन्द्रमा परिरहेको छ । पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पुर्वसभापति स्वर्गीय सुशिल कोइरालाको गृहनगर भएका कारण पनि नेपालगन्जलाई जिल्लादेखी केन्द्रसम्म निकै चासो र महत्वका साथ हेर्ने गरिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

नयाँ नेतृत्वका लागि वर्तमान उपमहानगर सभापति प्रशान्त विष्ट, नेतृ उमा थापामगर र बिनोद रिजालले आकांक्षा राखेका हुन् । तीनै जना आकांक्षी पार्टीका युवा नेता हुन् । उनीहरु काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल हुदै पार्टीको मुल राजनीतिमा आएका हुन् ।

आसन्न निर्वाचनमा नेपालगन्ज उपमहानगर सभापति पदमा विशेषगरि यी तीन जना आकांक्षी देखिएका छन् । काँग्रेस कार्यकर्ताको नजरमा यी तीनै जना ब्यक्ति आफैमा योग्य, बलियो र कुशल नेतृत्वकर्ताका रुपमा चिनिएका छन् । राजनीति पृष्ठभूमिमा विछट्टै पहिचान बनाउन सफल यी तीन ब्यक्तिबीच कडा प्रतिस्प्रर्धा हुने निश्चित छ । यी तीन मध्ये कस्ले बाजी मार्ला ? उपमहानगरपालिकाको अबको नेतृत्व कसले पाउला भन्ने विभिन्न कोणबाट बहस र चर्चा समेत सुरु भइसकेकोछ ।

काँग्रेस कार्यकर्ता मात्र होइन अन्य राजनीतिक दल तथा ब्यक्तिहरुले अहिले विभिन्न कोणबाट अड्कल बाजी गरिरहेका छन् ।

वर्तमान सभापति विष्टले तत्कालिन नेपालगन्ज नगर सभापति भएर पाँच वर्ष र उपमहानगर भएपछि थप पाँच वर्ष गरी १० वर्ष कार्यकाल सम्हाल्ने अवसर पाए । १४ औं महाधिवेशनमा पनि विष्टले पुनः उपमहानगर सभापतिमै उम्मेदवारी दिने तयारी गरेका छन् ।

जिल्लामा पालिका स्तरको अधिवेशनका लागि अहिलेसम्म महिलाले सभापति पदमा आकांक्षा राखेका छैनन् । बाँकेको राजनीतिमा पहिलोपटक पालिका स्तरमा नेतृत्व लिन महिला नेतृ थापाले आकाक्षा ब्यक्त गरेकी छन् ।

सम्भवतः नेतृ थापा जिल्लाकै पहिलो एक मात्र पालिका सभापतिको उम्मेदवार हुदैछिन् । उनी नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पनि हुन् । नेपाल बिद्यार्थी संघ र नेपाल प्रेस युनियनको पुर्वकेन्द्रिय सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु कोषाध्यक्षमा उनको लामो अनुभव छ ।

यस्तै युवा नेता रिजाल वर्तमान नेपाल तरुण दल बाँकेको जिल्ला सचिव हुन् । पार्टीको भातृ संगठनमा रहेर लामो समय काम गरिसकेका उनले यसपटक उपमहानगर सभापतिमा उम्मेदवारी दिन लागेका हुन् । उपमहानगरमा पार्टीको संगठन बलियो बनाउनका लागि सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको रिजाल बताउँछन् ।

‘मेरो उम्मेदवारी पार्टी संगठन बनाउनका लागि नै हो ।’ स्वर्गीय सुशिल कोइरालाको गृहनगर नेपालगन्जमा पार्टीको प्रतिष्ठा स्थापित गर्न आफु नेतृत्वमा आउन खोजेको बताउँदै उनले संगठन मजबुद नभए, पार्टी बलियो नहुने तर्क राखे ।

‘संगठन निर्माण नै मेरो प्रमुख एजेण्डा हो, आउँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई जिताउनका लागि मेरो उम्मेदवारी हुन लागेको हो,’ नेतृ थापाले अगाडी भनिन् ‘कार्यकारी पदमा महिलाको उम्मेदवारी अहिलेसम्म छैन, महिला पनि नेतृत्वमा आउन सक्षम छन् भन्नका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’

नेतृ थापाले संगठन निर्माण नै आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै नेतृत्व हस्तान्तरण पनि आफ्नो चुनावी एजेण्डा रहेको बताईन् ।

यस्तै वर्तमान सभापति विष्टले आफुले पार्टीलाई झन् बलियो बनाउन पुनः सभापति पदमा उम्मेदवारी दिन लागेको बताए । ‘आउने स्थानीय निर्वाचनमा नेपालगन्जका २३ वटै वडामा पार्टीका साथीहरुलाई जिताउने मेरो पहिलो एजेण्डा हो, यसअघिको अनुभवलाई अब कार्यान्वयनमा लैजानेछु,’ उनले भने ‘साथीहरुको आवश्यकता र सुझाव अनुसार म फेरी एक पटक दोहोरिन लागेको हुँ ।’

नेपालगन्जको २३ वटै वडामा नयाँ र पुरानो गरी ३ हजारको हाराहारीमा क्रियाशील सदस्य रहेका छन् । यी तीनै जना युवा नेताहरुबीचबाट उपमहानगरपालिकाको आगामी नेतृत्वका लागि कुनै एक चुनिने भएकाले पनि नेता तथा कार्यकर्तालाई यसपटक अलि बढि नै दवाव सिर्जना भएकोछ । तीनै जनाको विगत र वर्तमान राजनीतिकि ओजका कारण उनीहरुबीच कडा प्रतिस्प्रर्धा हुने निश्चित छ ।