अख्तियारको झुटो ‘स्टिङ अपरेशन’
नेपालगन्ज:अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्र्पक कार्यालय नेपालगन्जले गत बैशाख २१ गते साँझ नेपालगन्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो ।
मुद्दामा सहजिकरण गरिदिने भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका टाइपिस्ट सुब्बा कृष्ण कुमार पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले पाठकलाई च्याम्बरबाट समात्यो ।
अख्तियारले एक विज्ञप्ती जारी गर्दै ३ लाख घुससहित पाठकलाई रंगेहात समातेको भन्यो । तर, घटना त्यसो थिएन । घुस रकम भनिएको ३ लाख रुपैयाँ पाठकबाट बरामद नभएको रहस्योद्घाटन भएको छ । यो खबर बाहिर आएसगैं अख्तियारले भनेजस्तो रंगेहात घुस रकमसहित पाठक पक्राउ परेनन् । जसले गर्दा यतिखेर अख्तियारलाई टाउको दुखाई भएकोछ ।
आर्थिक अनियमितता नियन्त्रणमा सक्रिय रहेको आयोगकै लापरबाहीका कारण यतिवेला विवादित बनेकोछ । घुस लिदै गरेका पाठकलाई पक्रेको आयोग एकहिसावले झुटो हो भन्ने प्रमाणित भएकोछ ।
यसरी गायब भयो घुस रकम
बैशाख २१ गते शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अपरेशन’ गर्दै भ्रष्टाचार मुद्दा चलायो । घुस माग्ने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम उपलब्ध गराउने गर्छ । जुन रकम सेवाग्राहीले कर्मचारीलाई बुझाउँछन् । ति नोटहरुको फोटोकपी यसअघि नै अख्तियारले राखेको हुन्छ । यसप्रकार घुस माग्ने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाही नै ‘स्टिङ अपरेशन’ हो ।
उच्च अदालतका कर्मचारी पाठकलाई पक्राउ गर्न पनि यही विधि अपनाएको थियो अख्तियारले । तर, अख्तियार यो पटक भने चुक्यो । सेवाग्राहीलाई उपलब्ध गराएको घुस रकम नै गायब भएको छ । अर्थात पक्राउ परेका अभियुक्तबाट रकम फेला परेन ।
घुस रकम लिएर सेवाग्राही घटना स्थलतिर लागे, उनीसंगसगैं आयोग टोली रंगेहात समात्ने भनेर अख्तियार पछिपछि लाग्यो । तर, अख्तियारको टोलीले पाठकलाई आफ्नो नियन्त्रणमा लियो । घुस रकम भने लिन पाएन ।
पाठकको छोरा ३ लाख घुस रकम सहित फरार
श्री लयर्स च्याम्बरमा घुस लेनदेन भएको पाईएको भन्दै अख्तियारले अदालतभित्र हुने भ्रष्टाचारमा वकिलको संलग्नताबारे पनि अनुसन्धान अघि बढायो ।
आर्थिक लेनदेन भइरहेको ल फर्ममा केही ढिला पुगेको आयोगको यही कमजोरीको भरपुर फाईदा उठाइएको छ । ल फर्ममा पाठकका छोरा विपिन पनि घुस लेनदेनका क्रममा सगै थिए ।
घुस लेनदेन भईसकेपछि विपिनले तत्कालै बुवा पाठकको ईशारा बुझेर तीन लाख रकम लिएर सुइकुच्चा ठोके । आयोग कर्मचारी पुग्दा उनी त्यहाँबाट टाप कसिसकेका थिए ।
पाठकले चलाखीपूर्ण घुसको कारोबार गर्दै लिएको घुस रकम छोराका साथ पठाए । जबसम्म अख्तियारको टोली ल फर्म पुग्थ्यो, तबसम्म विपिन ओझेल परिसकेका थिए ।
पाठकले अख्तियारको टोलीभन्दा एक कदम अगाडि बढेर चलाखी गरेका रहेछन् । जसबाट अख्तियारका अधिकारीहरु अचम्भित त भएका छन् नै सँगसँगै तनाबमा पनि परेका छन् । रंगेहात भनेपनि घुस रकम बरामद नहुँदा यो मुद्दा कमजोर बनेको छ । अनि अख्तियारले सार्वजनिकरुपमा रंगेहात पक्राउ भनेको कुरा पनि झुठो साबित भएको छ ।
घुस रकम लिएर फरार भएको भनिएका विपिन फेला नपर्दासम्म यो विषयको सहज निप्टारा लाग्ने देखिँदैन । घुस रकम लिएर विपिन तुरुन्तै भारततिर लागेको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले अनुसन्धानका क्रममा रहेको भन्दै धेरै कुरा नभनेपनि पाठकका छोराको खोजी भईरहेको बताए ।