कैलाश मानसरोवर दर्शन गर्न आएका भारतीय पर्यटकलाई सीमामै स्वागत


कैलाश मानसरोवर दर्शन गर्न आएका भारतीय पर्यटकलाई सीमामै स्वागत

कैलाश मानसरोवर दर्शन गर्न भारतबाट आएका पर्यटकलाई सीमामै स्वागत गरिएपछि सामुहिक तस्विर खिचाइदैँ । तस्विर सेतोखरी

नेपालगन्ज ११ असोज : भारतबाट कैलाश मानसरोवर दर्शन गर्न आए पर्यटकको एक जम्बो टोलीलाई सीमानाकामै स्वागत गरिएको छ । नेपालगन्जका पर्यटन ब्यवसायीले सोमबार अपरान्ह नेपाल–भारत सीमानाका जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरेका हुन् ।

पर्यटकलाई पर्यटन प्रर्बद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, होटल सिद्धार्थ भ्यू नेपालगन्जका केशव न्यौपाने, मेरो प्लानेटका प्रबन्ध निर्देशक ओम मिश्र लगायत पर्यटन ब्यवसायीले खादा र टिका लगाएर स्वागत गरेका हुन् ।

भारतको मुम्बई र गुजरातबाट ९ जनाको टोली भारत बहराईच जिल्लाको रुपैडिहा बजार हुदैँ नेपालगन्ज प्रवेश गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जको प्रवेशद्वारमै न्यानो स्वागत पाउँदा भारतीय पर्यटक हर्षित भएका थिए । उनीहरु नेपालगन्जको तारे होटल कारकाँदो स्थित सिद्धार्थ भ्यूमा बास बसेर नेपालगन्ज विमानस्थलमार्फत हुम्लाको सिमकोट जानेछन् । हुम्लाको सिमकोट हुदैँ हिल्सा नाका भएर कैलाश मानसरोवर दर्शन गर्न उक्त भारतीय पर्यटकको टोली जानेछ ।

जहाँबाट उनीहरू मोटरबाटोबाट ताक्लाकोटतर्फ लाग्छन् । त्यहाँबाट कैलाश मानसरोवरको वास्तविक यात्रा शुरू हुन्छ । चीनको तिब्बतमा पर्ने ताक्लाकोटबाट कैलाश मानशरोवर पुगेर पुनः त्यहाँ फर्कदा पर्यटकरूले एक हप्ता लामो मन लोभ्याउने एउटा भ्रमण पुरा गरिसकेका हुन्छन् ।

पर्यटन प्रर्बद्धन मञ्चका संयोजक श्रेष्ठले कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटकका लागि नेपालगन्ज नाका एकदमै सहज र सरल भएको बताए । उक्त नाका भएर वर्षेनी हजारौंको संख्यामा भारतीय पर्यटकहरु मानशरोवर तिर्थयात्रामा जाने गरेको उनले सुनाए ।

नाटा बाँकेका अध्यक्ष सिग्देलले भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर नेपालगन्जमा पर्यटनका गतिविधी सञ्चालन गर्न सकियो भने पनि नेपालगन्जसहित पश्चिम नेपालको पर्यटन प्रर्बद्धनमा फड्को मार्ने बताए ।

पर्यटकलाई सीमामा स्वागत गरिसकेपछि बास बस्न पुगेका पर्यटकलाई होटल सिद्धार्थ भ्युले पनि छुट्टै स्वागत गरेको थियो । पर्यटन दिवसको अवसरमा बाँके लगायत विभिन्न स्थानमा पनि सोमबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

वैशाखदेखि असारसम्म कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ । असोज महिनासम्म पनि त्यहाँ जाने पर्यटकहरूको चहलपहल देखिन्छ ।