नेपालगन्ज १४ असोज : प्रधानमन्त्री निवास बालुटारमा जारी सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित रहेकोछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको ‘सर्वदलीय’ बैठक बिहीबार बिहान १० बजेका लागि आह्वान गरिएको भएपनि केही ढिला गरि सुरु भएको हो ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमाले बैठकमा अनुपस्थित रहेको छ ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
पाँच दलीय गठबन्धनको समर्थनमा देउवा प्रधानन्त्री भएको साढे २ महिना भन्दा बढी भइसक्दासमेत सरकारले पूर्णता पाउन नसकिरहेको बेला देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टी(जसपा) नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल सहभागी छन् ।