नेपालगन्ज १६ असोज : दशैं, तिहार मनाएर काम गर्न भारत जाने र करिव एक वर्षसम्म कमाई गरेर पुनः दशैं, तिहार मनाउन आउने नेपालीको पुरानै चलन हो ।
विशेषगरी पहाडी क्षेत्रबाट कालापहाड जाने प्रचलन छ । विगतका वर्षमा कमाई गरेर दशैंमा घर फर्किदाँ नेपाली मजदुरले घर परिवारका लागि कालापहाडको कोशेली स्वरुप स्याउ लगायतका सामान ल्याउने गर्दथ्ये । तर, अहिले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीका कारण पस्थिती पुरै फेरिएको छ ।
अहिले भारतबाट फर्किने नेपालीहरु आफ्नै ज्यानलाई बाजी मारेर फर्किनु परेको छ । कोरोनाका कारण राम्रो कमाइ नभएपछि रित्तो हात घर फर्किरहेका नेपाली अहिले सामान त के आफ्नै ज्यानलाई जोगाएर फर्किनु परेको उनीहरु बताउँछन् ।
मजदुरी गर्नका लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरुले राम्रो काम र दाम नपाएपछि यसपटक रित्तो हात फर्किनु परेको दुखेसो पोखे । घरमा त्यसै बस्दा साँझ बिहानको छाक टार्न नसकिने, भारतमा जादाँ कोरोना महामारीको डरले काम नै नपाएकाले यसपटक खासै कमाई नभएको सल्यान, स्यानीखालका असोक बस्नेत बताउँछन् ।
भारत नजादै उनलाई शंका थियो, यसपाली कोरोना महामारीले गर्दा राम्रो कमाई हुदैन । त्यहाँ गईसकेपछि उनले सोचे जस्तो कमाई गर्नै सकेनन् । कोरोना महामारीको त्रासका बीच उनले जसोतसो ८ महिना भारतमा बिताए ।
बस्नेत मात्र होइन रोजगारीका लागि भारतका विभिन्न ठाँउ गएका प्राय सबै नेपालीको अवस्था उस्तै छ ।
दशैं नजिकिएसंगै यतिबेला सीमानाका जमुनाहमा घर फर्किने नेपालीको ठूलो भीड लागेकोछ । दिनहुँ करिब १५ सयदेखि २ हजारको हाराहारीमा नेपाली आउने गरेको जमुनाह प्रहरीको तथ्यांकले देखाएकोछ । यसरी कोरोनाको जोखिम मोलेररोजगारीका लागि भारत फिरेकाहरु स्वदेश फर्किदाँ भारत तथा स्वदेशमै ठगिने, लुटिने गरेकाछन् ।
छिमेकी मुलुक भारत नेपाली नागरिकका लागि काम गर्न जाने प्रमुख थलो हो । जहाँ नेपाली नागरिकहरु सदियौदेखी कामका लागि जाने गरेका छन् । गाउँमा प्रसस्त जग्गा जमिन नहुने, जग्गा जमिन भएपनि अधिया दिएर काम गर्न भारत जाने प्रचलन अहिले पनि नेपाली समाजमा कायमै छ । यसरी जाने थुप्रै नेपाली विभिन्न किसिमका जोखिममा पर्नुका साथै धेरैको ज्यान समेत जाने गरेकोछ ।