नेपालगन्ज १९ असोजः राजनीतिशास्त्रका प्राध्यापक डाक्टर जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ को मंगलबार विमोचन गरिएको छ ।
उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथी एवम् प्राध्यापक गोविन्द प्रसाद घिमिरे, विशिष्ट अतिथी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र लेखक डाक्टर आचार्यले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
सो क्रममा बोल्दै लेखक आचार्यले आफ्नो जीवनका भोगाई, अनुभुती सुनाएका थिए । विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।
पुस्तक र प्राचार्य डाक्टर आचार्यको जीवनबारेमा प्राचार्य डाक्टर घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, प्राज्ञ सनत रेग्मी, पुराना वामपन्थी नेता रोमहर्ष धिताल, वरिष्ठ पत्रकार पूर्णलाल चुकेले बोलेका थिए ।
उक्त पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गरेको हो । आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन् ।
उनी स्वयंम् बामपन्थी राजनीतिमा आबद्ध रहेकाले पनि घटनाक्रमलाई नजिकबाट देखेका छन् । नेपाली राजनीतिको दुईधारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् । २००७ साल साउन ५ गते दाङको उवाकोटमा जन्मिएका प्राचार्य डाक्टर आचार्यले प्रसेनीको स्कूलबाट अक्षर चिने ।
पाँचकक्षा पढ्न महेन्द्र हाइ स्कूल, तुलसीपुर पुगेका आचार्यले पदमोदय पब्लिक हाइ स्कूलबाट टेष्ट पास गरे । यतिबेलासम्ममा उनी राजनीतिमा लागिसकेका थिए । पद्मोदयमा पढ्दा नै विस २०२४ सालमा पञ्चायती शासकको धरपकडकबाट बच्न भागेर भारतको बनारस पुगे । बनारसको आदर्श कलेजबाट आइएसी गरेपछि विस २०३० सालदेखि काठमाडौंमा विश्वविद्यालयको पढाई शुरु गरे ।
आचार्यको बनारस बसाईमा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठसँग संगत भयो । पुष्पलाल श्रेष्ठबाट उनले कम्युनिष्टको सदस्यता लिए । दाङको कम्युनिष्ट आन्दोलनलाई प्रत्यक्ष नियालेका आचार्यले पूर्वमा रहेको तत्कालिन कोर्डिनेसन कमिटि (कोके) सँग सम्बन्ध स्थापित गराउन मद्दत गरे ।
बनारसमा रहँदा आचार्यले वीपी कोइरालालाई भेटेर नेपालको राजनीतिबारे समीक्षा समेत गरेका थिए । त्यसैले वीपी र पुष्पलालको आदर्श उनले राम्ररी बुझेका छन् । विस २०३२ सालमा अनेरास्ववियु मध्यमाञ्चलको अध्यक्ष बनेका आचार्यले विद्यार्थी आन्दोलनलाई मूल पार्टीसँग जोड्न धेरै जिल्लाहरुको भ्रमण गरे ।
२०३७ साल बैशाखमा किरण पौडेलसँग विवाह बन्धनमा बाँधिएसँगै २०३९ पुस ११ गतेदेखि महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन शुरु गरे । ३४ वर्ष अध्यापन गरेर हाल उनी सेवानिबृत भएका छन् । आचार्यको पुस्तकमा दाङको कम्युनिष्ट आन्दोलन, दाङ, बनारस र तत्कालीन कोर्डिनेशन केन्द्रसँगको सम्बन्ध, विद्यार्थी आन्दोलन र विश्व विद्यालयभित्रको राजनीतिसँग सम्बन्धित संस्मरण लेखेका छन् । त्यस्तै, दलहरुमा देखिएको सैद्धान्तिक विचलन, नेपालको भारत र चीनसँगको कुटनीति सम्बन्धबारे आफ्ना अनुभूति उनले उल्लेख गरेका छन् ।
नेताहरु पुष्पलाल श्रेष्ठ, वीपी कोइराला, मरिचमान श्रेष्ठ, सीपी मैनालीजस्ता मुर्धन्य व्यक्तित्वकाबारेमा आचार्यको संगत, भोगाई र बुझाई पनि पुस्तकमा पढ्न सकिन्छ ।
यस पुस्तकको सहलेखन पत्रकार कुमार श्रेष्ठ र सम्पादन पत्रकार जनक नेपालले गरेका हुन् । विभिन्न व्यक्तित्वहरुको भोगाई र बुझाईलाई पुस्तकाकार गर्ने अभियानमा रहेको क्रियटिभ बुक्सले आचार्यको पुस्तकलाई मङ्गलबार एक समारोहकाबीच विमोचन गरेको हो ।
क्रियटिभ बुक्सले यसअघि ओलम्पियन, समृद्धिको बाटो, पाइला–पाइला, शून्यदेखि करोडपतिसम्म, कप्तान १९९८, चौकीदारदेखि वकिलसम्म, क्यान्टोनमेन्ट पुस्तक प्रकाशन गरिसकेको छ । ‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सको आठौं प्रकाशन रहेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी