‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका विमोचन
नेपालगन्ज २० असोज : उत्कृष्ठ काम गरे वापत बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत गरिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्र खनालसहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् ।
नेपाल प्रहरीको ६६ औं दिवसका अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित विशेष कार्यक्रममा उनीहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेका अनुसार उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
‘ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी साबसहित २६ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभयो, उहाँहरु सबैलाई नगद र प्रमाणपत्र प्रदान गरियो,’ न्यौपानेले भने ।
सोही समारोहमा नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पुर्याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको छ । दिवसका अवसरमा ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरिएको थियो । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धा–सुमन प्रकट गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको भन्दै त्यो आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुनुपर्ने बिश्वास ब्यक्त गरे ।

यस्तै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी वीर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल, नेपाली सेना राँझा ब्यारेकका प्रमुख सेनानी जनमत कार्की, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बहादुर बम, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्रराज गिरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दीपेन्द्रकुमार जोशी, हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी लगायत अतिथी एवम भुतपुर्ब प्रहरी, अमर प्रहरी परिवार लगायतको उपस्थिति रहेको थियो ।
साथै ६६औं प्रहरी दिवस २०७८ को अवसरमा बिभिन्न बिधामा गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सि दौड प्रतियोगिताका विजयीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।