नेपालगन्ज २० असोज : कोरोना कहरकाबीच नेपालीहरुको महान चाड बडादशैँ बिहीबार (आज)बाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं शुरु भएको हो । दशैंको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ । यही दिनदेखि नवरात्र शुरु हुन्छ ।
नवरात्रमा दुर्गा स्तोत्र (सप्तसति चण्डी) पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुती गरिन्छ । लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौं, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाईन्छ । बडा दशैँको पहिलो दिन आज घर–घरमा बैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जांै
(यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।
जौंको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव (जमरा) रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौं बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधी नभएको धर्मशास्त्रविद बताउँछन् । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । यस वर्ष आज बिहान ११ः४६ बजे घटस्थापनाको शुभ साइत रहेको छ । भने दशैंको टीकाको शुभसाइत असोज २९ गते बिहान १० बजेर २ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकोछ ।
दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
नवरात्र भनेर समेत चिनिने दशैँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । कोरोनाका कारण यसवर्ष नवरात्रका अवसरमा नेपालगन्जको रामलिला मैदानमा १५४ वर्षदेखि गरिदैँ आएको रामायण सम्बन्धि नाटक मञ्चन स्थगित गरिएकोछ । यद्यपी प्रतिकात्मकरुपमा विशेष पूजापाठ गरिने भएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही