कोरोना कहरमै दशैं शुरु

घर–घरमा घटस्थापना, चोक–चोकमा दुर्गामूर्ती


घर–घरमा घटस्थापना, चोक–चोकमा दुर्गामूर्ती

नेपालगन्ज सदरलाईनमा स्थापना गरिएको दुर्गाको मूर्ति । तस्विर: रवि कनोजिया /सेतोखरी

नेपालगन्ज २० असोज : कोरोना कहरकाबीच नेपालीहरुको महान चाड बडादशैँ बिहीबारबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान पर्व बडादशैं बिहीबारदेखि शुरु भएको हो । दशैंको पहिलो दिन बैदिक विधिपूर्वक घर–घरमा घटस्थापना गरिएकोछ । यही दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रमा दुर्गा स्तोत्र (सप्तसति चण्डी) पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुती गरिन्छ ।

लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौं, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाईन्छ । बडा दशैँको पहिलो दिन घर–घरमा बैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको हो । घटस्थापनाककै दिनदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

यसदिन बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जांै (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।

जौंको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव (जमरा) रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौं बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधी नभएको धर्मशास्त्रविद बताउँछन् । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

Kanti Aarogya Hospital Nepalgunj

घटस्थापनाका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसदिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ । नवरात्र भनेर समेत चिनिने दशैँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

यसबीच, बिहीवार दशैंको पहिलो दिन बाँकेका विभिन्न स्थानमा दुर्गामूर्ति स्थापना गरिएकोछ । दुर्गामूर्ति स्थापनाका लागि नेपालगन्जका विभिन्न स्थानमा ब्यवसायीकरुपमा समेत दुर्गामूर्ति निर्माण गरिएका छन् ।

यसअघि फ्याट्फुट्ट स्वदेशमै मूर्ती निर्माण गरिएपनि उक्त मूर्ति प्रयाप्त नभएपछि सीमावर्ती भारतको रुपैडिहा, बाबागञ्ज लगायतका क्षेत्रबाट महंगोमा दुर्गाका मूर्ती खरिद गरि ल्याइन्थ्यो । तर, पछिल्लो समय बाँकेको नेपालगन्जसंगै विभिन्न स्थानमा यहीका मूर्तिकारले मूर्ति बनाउन थालेपछि सहजता भएकोछ ।

घटस्थापनाको साँझ बागेश्वरी मन्दिरबाट प्रज्जवलित बत्ति लगेर दुर्गामूर्ति प्रतिस्थापन गर्ने चलन रहेको बाँकेका अवध सँस्कृतिका जानकार विष्णुलाल कुमाल बताउँछन् ।

खासगरी मधेशी समुदायले नवरात्रभरी व्रत बस्ने र दुर्गा भवानीको पूजापाठ गर्ने गर्छन् । घटस्थापनाको स्थापना गरिएका मूर्ति नरवारात्रसम्म वैदिक विधिपूर्वक पूजापाठ गरि दशैंको भोलिपल्ट नजिकैको पोखरी तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ ।

कोरोना भाइरस संक्रमणका कारण गतवर्ष मूर्ती स्थापना गरिने कार्य प्रभावित भएपनि यसवर्ष कोरोना भाइरस संक्रमण दर कम भएसंगै चोकचोक र टोलटोलमा मुर्ती स्थापनाको संख्यामा बढोत्तरी भएकोछ ।