पत्रकार महासंघ बाँकेद्वारा ‘कोभिड सम्मान’


पत्रकार महासंघ बाँकेद्वारा ‘कोभिड सम्मान’

नेपालगन्ज २२ असोज : नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड–१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बाँकेका विभिन्न ब्यक्तित्वलाई सम्मान गरेकोछ ।

नेपालगन्जमा आज(शुक्रबार) आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई सम्मान गरिएको हो ।

महासंघले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन छाती तथा फोक्सो रोग विशेषज्ञ डाक्टर सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याब टेक्निसियन दीपक शर्मा, जे शर्मा मेडिकलका सञ्चालक जीवन शर्मालाई सम्मान गरेको हो ।

यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दीपेन्द्र विष्टलाई सम्मान गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आज(शुक्रबार)देखि नै शाखाले जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरुको दुर्घटना बीमा कार्यान्वयन गरेकोछ ।

सोक्रममा सगरमाथा इन्स्योरेन्स नेपालगन्जका प्रमुख गोविन्द उपाध्यायले नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोेदर भण्डारीलाई बीमा पोलिसी हस्तान्तरण गरी दुर्घटना बीमा कार्यान्वयन भएको जानकारी दिएका थिए ।
महासङ्घ बाँके शाखामा आवद्ध ३२३ जना पत्रकारसहित जम्मा ३५३ जना पत्रकारहरुको दुई लाख रुपैयाँको दुर्घटना बीमा गरिएकोछ ।