नेपालगन्ज २५ असोज : दशैंको समयमा पुराना नोटको सट्टामा नयाँ नोट दिने प्रचलन रहेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थाले आफ्ना काउन्टर मार्फत नोट सटही सुविधा दिने गरेका छन् ।
विगतका वर्षहरुमा नयाँ नोट सटहीका लागि लामो लाइन हुने भएकाले नेपाल राष्ट्र बैंकले सूचना जारी गरि १ महिना अगाडी बाटै नयाँ नोट सटही सुविधा उपलव्ध गराएको छ ।
यतिबेला राष्ट्र बैंकले सर्बसाधरणका लागि ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नयाँ नोट सटही सुविधा उपलब्ध गराइरहेकोछ । सेवाग्राहीहरुले दशैंमा दान दक्षिणा दिनका लागि ५ देखि १०० सम्मका नोटहरु माग गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५०० र १००० नयाँ नोटहरु अन्य नोटको तुलनामा कम माग हुने गरेको छ ।
दशैंमा मागका आधारमा नयाँ नोट सटही गरिने नेपाल राष्ट्र बैंकले बताए पनि प्राय प्रतिव्यक्ति १८ हजार ५०० सम्मको दिइने गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दशैंमा ५० देखि ५५ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने गरेको छ । यो वर्षको दशैंमा पनि उक्त हाराहारीमा नयाँ नोट सटही हुने अनुमान केन्द्रीय बैंकको छ ।
नेपालमा असावधानीपूर्वक नोटको प्रयोग कानूनी रुपमा दण्डित छ । मुुलकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभावी कोरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ । कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा नोटको दुरुपयोग गर्ने अवस्था अन्त्य भने हुन सकेको छैन ।
दशैंमा टिका लगाई दान दक्षिणा स्वरुप नयाँ नोट दिइने प्रचलन रहेकाले टिकामा प्रयोग भएको अविरका कारण नयाँ नोट चाँडै मैलो हुने गरेको छ । यसैगरी नोट केरमेट गर्ने तथा अव्यवस्थित प्रयोगका कारण चाँडै बिग्रने गरेको छ ।
नयाँ नोट लिए पनि त्यसको संरक्षणमा भने पर्याप्त ध्यान दिएको पाइँदैन । नोट छप्पाइमा राज्यको सम्पति खर्च हुने कुरामा सर्वसाधारण बेखबर छन् । नेपाल राष्ट्र बैंकले छपाई गर्ने नयाँ नोटको गुणस्तरमा थुप्रै प्रश्नहरु उठे पनि सर्वसाधारणले यसको हिफाजतमा ध्यान नपुर्याउदा नोट चाँडै झुत्रो र मैलो देखिने गरेको छ ।