वनमन्त्री हमाललाई नेपालगन्ज उपमहानगरको सम्मान


वनमन्त्री हमाललाई नेपालगन्ज उपमहानगरको सम्मान

नेपालगन्ज ३ कार्तिक : नेपालगन्ज उप–महानगरपालिकाले नगरबासीको नाताले नेपालगन्जको विकास निर्माणमा प्राथमिकता दिन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–सरक्षण मन्त्री सुरेन्द्र हमाललाई अनुरोध गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाले मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुख डाक्टर धवल शम्शेर राणाले यसअघि प्रदेश सरकारले नेपालगन्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए ।

नेपालगन्जमा रहेका तालहरुको स्तरउन्नती गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुख राणाले प्रदेश सरकारबाट ठुलो अपेक्षा राखिएको बताए ।

सम्मान कार्यक्रममा उप–प्रमुख उमा थापा मगरले नेपालगन्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री हुनु नेपालगन्जबासीकै लागि अवसर भएको भन्दै हमाल मन्त्री भएपछि नेपालगन्जबासीका अपेक्षा बढेको र विकासले पनि गति लिने बिश्वास ब्यक्त गरिन । नेपालगन्ज गृह नगर भएका कारण प्राथमिकता दिन मगरले आग्रह गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने हमाल मन्त्री भएपछि जिल्लाबासीनै खुशी भएको बताए ।

मन्त्री हमालले नेपालगन्जबासीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए । प्रदेशका ठुला शहरलाई हरित शहर बनाउन योजना बनाईरहेको भन्दै उनले ठुला रुख रोप्नुपर्ने पक्षमा आफु रहेको बताए ।

नेपालगन्ज र बाँकेमा बोटानिकटल पार्क, जडिबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरउन्नती लगायत नेपालगन्ज उपमहानगरपालिकाबाट प्रस्तुत मागहरु पुरा गर्ने मन्त्री हमालले बताए ।

सो अवसरमा मन्त्री हमाललाई नगर प्रमुख हमाल, उपप्रमुख मगर सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले फुलमाला र खादा सहित सम्मान गरेका थिए ।