काँग्रेसका वरिष्ठ नेता पौडेल नेपालगन्जमा


काँग्रेसका वरिष्ठ नेता पौडेल नेपालगन्जमा

नेपालगन्ज ७ कार्तिकः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालगन्ज आएका छन् । पश्चिम क्षेत्रको विभिन्न जिल्ला भ्रमण गरी उनी आइतबार बेलुका नेपालगन्ज आइपुगेका हुन् ।

बर्दियामा आईतबार दिउँसो आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका वरिष्ठ नेता पौडेलले कोहलपुर–६ स्थित नेपाली काँग्रेसका कार्यकर्ता गोविन्द वाग्लेको घरमा बेलुका खाना खाएको काँग्रेसका जिल्ला सदस्य सुधान्सु कोइरालाले जानकारी दिए । कोहलपुरमा पनि उनले काँग्रेस नेता, कार्यकर्तालाई भेटघाट गरे । कोहलपुरबाट नेपालगन्ज आएर उनी होटल सिग्नेटमा बसेका छन् ।

वरिष्ठ नेता पौडेल सोमबार पनि बाँकेमा आयोजना हुन लागेका कार्यक्रममा ब्यस्त हुनेछन् । नेपाल प्रेस युनियन बाँकेले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यतामा सोमबार बिहान ७ बजे नेपालगन्जमा पत्रकार भेटघाट गर्दैछ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अनुसार बिहान ठिक ७ बजे नेपालगन्जस्थित होटल सिग्नेटमा पत्रकार भेटघाट हुनेछ ।

पत्रकार भेटघाट लगत्तै नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा बिहान ८ बजे आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस बाँकेका सभापति किरण कोइरालाले बताइन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका नेता, कार्यकर्तालाई सम्बोधन र भेटघाट गरेर पौडेल १२ बजेतिर काठमाडौं फर्किने उनीसँगै रहेका नेपाल प्रेस युनियनका केन्द्रिय सचिव खिला कार्कीले बताएका छन् ।