काँग्रेस वरिष्ठ नेता पौडेलले भने–‘सभापतिको उम्मेदवार म आफै हो’

अधिबेसन कार्यतालिका फेरबदल भए संकट आउँछ


काँग्रेस वरिष्ठ नेता पौडेलले भने–‘सभापतिको उम्मेदवार म आफै हो’

नेपालगन्ज ८ कार्तिक : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापतिमा उम्मेदवारी दिने भएकाछन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो समुहबाट सभापतिको उम्मेदवार म स्वयम हुँ’ काँग्रेस वरिष्ठ नेता पौडेलले भने–‘यसमा कुनै दुविधा छैन, हाम्रो समुहबाट सभापतिको उम्मेदवार म नै हुन्छु र यो स्वभाविक उम्मेदवारी हुनेछ ।’

आसन्न पार्टीको १४ औं महाधिवेशनका दौरान बेमौसमी वर्षाले क्षती पु¥याएको पश्चिम नेपालको अवलोकन पश्चात काठमाण्डौं फर्किनुपूर्व नेपालगन्ज पुगेका काँग्रेस वरिष्ठ नेता पौडेल पत्रकारसंग कुरा गर्दै उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पारे ।

आफु १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट आफुलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने उनले आशा ब्यक्त गरे । ‘प्रजातन्त्र भनेको सामुहिक नेतृत्व पनि हो, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं,’ उनले भने ‘केही साथीहरुको आकांक्षा कता–कता सुन्नमा आएपनि सबै साथीहरुसँग छलफल गरेर एउटा उम्मेदवार टुंगो लगाउँछौं । त्यो नै म हो ।’

उनले अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताउदैँ दशै अगाडीदेखि नै कार्यसमिति बैठक बोलाउनुुस्, पार्टीको अधिवेशन कसरी समयमा गर्छौं, छलफल गरौं भनेर मैले पार्टी सभापति देउवा लगायतसंग आग्रह समेत गरेको छु, अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन,’ पौडेलले अगाडी थपे–‘काठमाण्डौं फर्केर यस विषयमा पुनः आग्रह गर्छु ।’

‘पार्टीको अधिवेशन हुनुपर्छ, अधिवेशन नहुँदा पार्टी बैधानिक संकटमा परेको अवस्था छ,’ पौडेलले अगाडी थपे ‘बैधानिक संकटबाट काँग्रेसलाई बचाउनुछ, यही चुनौतीको घडीमा हामी छौं ।’

संविधानलाई कार्यान्वयन गर्ने दायित्व काँग्रेसले नै पुरा गर्नुपर्ने उनको धारणा छ । पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका फेरबदल भएमा संकट आउन सक्ने भनेर आफुले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको पनि बताए ।

कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजादा सरकारलाई हटाउन बाध्य भएको बताउँदै अहिले काँग्रेसका पार्टी सभापति देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्तीलाई दोहोर्याउन नहुने पौडेल तर्क छ ।

आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनाव लड्छ कि गठबन्धन बन्छ भन्ने पत्रकारको जिज्ञासामा पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितीले के कुराको अनुभती गर्दछ, त्यतिखेर नै निर्णय होला । अहिले नै सो सम्बन्धमा कुनै निर्णय भएको छैन ।’

प्रधानन्यायाधीशमाथी लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नुपर्ने उनको सुझाव छ । ‘उहाँमाथी जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई प्रष्ट पार्नुपर्छ, चाहे प्रधानमन्त्री, चाहे प्रधानन्यायाधीश चाहे राष्ट्रपति, उहाँहरुले आफुलाई आत्मा अनुशासित राख्नुपर्छ, केही कुरा बाहिर आएपछि प्रष्ट पारेर परिस्थतीबाट सफाई दिनुपर्छ’ वरिष्ठ नेता पौडेलले बताए ।

जग नबस्दै हामीले ल्याएको ब्यवस्थालाई वर्तमान राजनीतिले महत्व दिन सकेको छैन । सत्तालाई महत्व दिने र उपलब्ध ब्यवस्थालाई वेवास्ता गर्नुले देश झनझन संकटमा फस्दै गएको भन्दै वरिष्ठ नेता पौडेलले भने –‘जनताको साँचो लिनेहरुमा धैर्यता हरायो, देश संकटको धरातलमा फस्दै गयो । देश बचाउन खबरदारी गर्नुपर्छ ।’

बेमौसमी वर्षाका कारण भएको धनजनको क्षती प्रति दुःख ब्यक्त गर्दै नेता पौडेलले बाढी, पहिरो र डुवानबाट क्षती भएका किसान र पीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा भएको पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँकेकी पार्टी सभापति किरण कोइराला, पूर्वसभापति एवम पूर्व मन्त्री गजेन्द्र हमाल, पूर्व बाँके पार्टी सभापतिद्वय कृष्णप्रसाद श्रेष्ठ र सनत रेग्मी, नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य महेन्द्रराज शर्मा, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगर, नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, केन्द्रिय सचिव खिला कार्की, युनियन बाँकेका पूर्व अध्यक्ष नरेन्द्र थापा, युनियन बाँकेका निर्वतमान अध्यक्ष जयनारायण शाह, सल्लाहकार चेतकान्त भट्टराई लगायत काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकको उपस्थिती रहेको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए ।

काँग्रेस वरिष्ठ नेता पौडेल सोमबार नेपाली काँग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गरि काठमाण्डौं फर्किएकाछन् ।