काँग्रेस महाधिवेशन मंसिरमै गर्न देउवाको निर्देशन


काँग्रेस महाधिवेशन मंसिरमै गर्न देउवाको निर्देशन

काठमाडौं ९ कार्तिक : प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले तोकिएकै मितिमा नेपाली काँग्रेसको महाधिवेशन हुने बताएकाछन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको पदाधिकारी बैठकमा निर्वाचन समितिलाई बोलाएर उनले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरमा जसरी पनि महाधिवेशन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको जानकारी दिए ।

‘सभापतिजीले मंसिरमा जसरी पनि सक्नुस् भन्ने उहाँको भनाइ हो,’ बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा उनले भने । नेता पौडेलले आफूले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको पनि जानकारी दिए ।

‘अधिवेशनका लागि मंसिर ९, १०, १२ जुन छ नि त्यसको सन्दर्भमा कार्यसमितिले पनि एकपल्ट त्यसलाई हेर्नुपर्छ । महाधिवेशन तयारी समिति पनि बनाउनुपर्ने छ । उपसमितिहरु बनाउनुपर्ने छ,’ उनले भने, ‘यसलाई फर्मलाइज गर्न पनि कार्यसमितिको आवश्यकता छ भनेर बैठकको माग गरेँ ।’

Kids Festival 2022
kanti aarogya hospital

प्रधानमन्त्री देउवाले पदाधिकारी बैठकमा निर्वाचन समितिका पदाधिकारीहरु बोलाएर महाधिवेशनका बारेमा छलफल गरेका थिए । छलफलमा निर्वाचन समितिलाई पूर्वनिर्धारित कार्यतालिकालाई ध्यानमा राखेर शीघ्रातिशीघ्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको पौडेलले जानकारी दिए ।

निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरुले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए ।

छलफलका क्रममा वरिठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर, निर्वाचन समितिले सो समितिमा महाधिवेशन गर्न नसकिने बताएको छ । कतिपय जिल्लामा वडा अधिवेशन पनि नभएको अवस्थामा अबको एक महिनाको अवधिमा सबै महाधिवेशन गर्न नसकिने निर्वाचन समितिले बताएको छ ।

नेपाली काँग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर, तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।