रेडियो भूवरभुवानी स्थापनाको दुई वर्ष पुरा


रेडियो भूवरभुवानी स्थापनाको दुई वर्ष पुरा

नेपालगन्ज १० कार्तिकः देशकै ठूलो गाउँपालिका बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित रेडियो भूवरभुवानी एफएमले दोस्रो वार्षिक उत्सव मनाएकोछ । समृद्धिका लागि सञ्चार नेपालद्वारा सञ्चालित रेडियो भूवर भवानी ९८ दशमलभ ८ मेगाहर्जले बुधबार आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो ।

२०७६ कात्तिक १० गतेबाट औपचारिक सुरुवात गरेको सामुदायिक रेडियो भूवरभवानीले आफ्नो प्रशारण यात्रा सफलतापूर्वक दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । रेडियो स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा रेडियोले बुधबार एक औपचारिक कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो । औपचारिक कार्यक्रमको प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले केक काटेर उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले विकट र ग्रामीण बस्तीमा रेडियो भूवर भवानीले जनतालाई सहज रुपमा सूचना, समाचार र कार्यक्रम पुर्याएको बताए । आफु रेडियोको नियमित स्रोता समेत भएको बताउँदै उनले रेडियोबाट प्रशारण हुने कार्यक्रम तथा समाचार नियमित रुपमा सुन्ने गरेको धारणा राखे । ‘प्राविधिक कुरालाई सुधार गरेर अझै कुना–कुनामा आवाज पुर्याउने काम यस रेडियोले गरोस्, म यही शुभकामना दिन्छु,’ उनले भने ।
रेडियोबाट प्रशारण भएका सूचना, समाचार र कार्यक्रमले जनप्रतिनिधीलाई समेत काम गर्न थप सहज हुने गरेको अध्यक्ष थारुले सुनाए । ‘गाउँपालिकाले प्रशारण गर्ने सूचना र हामीले दिएका अन्तर्वार्ता यस रेडियोबाट सुनेकै आधारमा जनताले सेवा, सुविधाबारे चासो राख्ने र फोन गर्ने गरेको कयौं पटक मैले आफै भोगेको छु, रेडियोको प्रभावकारिता धेरै नै छ,’ उनले भने ।

मानिसका अन्य आधारभुत आवश्यकता जस्तै रेडियो पनि महत्वपुर्ण आवश्यकता भएको अध्यक्ष थारुको भनाई छ । राप्ती सोनारीको विकट बस्ती खयरभट्टीमा आफु जाँदा त्यहाँका नागरिकले आफुहरुका लागि सूचना र समाचारको बलियो स्रोत रेडियो भूवर भवानी नै भएको बताउनु गरेको थारुले सुनाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले रेडियो भूवरभवानी सञ्चालन भएयता जनताले स्थानीय एफ.एम. रेडियोबाटै सूचना, समाचार र कार्यक्रम सुन्न पाइरहेको बताइन् ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यक्रमका विशिष्ट अतिथी लोकबहादुर शाहीले गाउँपालिकाको सूचना प्रशारण गरेर रेडियोले प्रभावकारी रुपले काम गरिरहेको बताए । ‘रेडियोले अझै प्रगति गर्दै जाओस्, म यही शुभकामना दिन्छु,’ उनले भने ।

उक्त कार्यक्रममा वडा नम्बर–३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर–४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर–५ का वडाअध्यक्ष झगरु थारु, वडा नम्बर–९ का वडाअध्यक्ष महाबीर ओली लगायतले रेडियोलाई शुभकामना दिएका थिए ।

समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष एवम् रेडियोका कार्यकारी प्रमुख अर्जुन ओलीले बाँकेको पुर्वी ग्रामीण तथा विकट क्षेत्रका जनतालाई स्थानीय सञ्चार माध्यमको पहुँचमा ल्याउने उद्देश्यले रेडियो भूवर भवानी स्थापना गरिएको जानकारी दिए ।

‘स्थानीय स्तरमै रेडियो खुलेपछि विकटका नागरिकले सहज रुपमा सूचना र समाचार सुन्न पाएका छन, जनतालाई सूचनाको पहुँचमा ल्याउनु नै हाम्रो उद्देश्य थियो,’ उनले भने ‘रेडियो स्थापनाको छोटो समयमै रेडियोप्रति स्रोताबाट माया, सहयोग र सद्भाव पाउँदा हामी निकै हर्षित छौं ।’ यसवर्ष कोरोना महामारी र बेमौसमी वर्षाले पुर्याएको मानविय तथा भौतिक क्षतिले सबैलाई स्तब्ध बनाएकाले रेडियो पनि आफ्नो वार्षिक उत्सवलाई विगतको जस्तो तामझाम नगरेर मनाएको कार्यकारी प्रमुख ओलीले प्रष्ट्याए ।

सामुदायिक अवधारणामा सञ्चालनमा रहेकाले रेडियोलाई दीर्घकालिन समयसम्म टिकाइ राख्ने दायित्व पनि स्थानीय सरकार तथा आम समुदायकै भएको कार्यकारी प्रमुख ओलीले बताए । रेडियोका स्टेशन म्यानेजर बिमला चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य समृद्धिका लागि सञ्चार नेपालका सचिव (अधिवक्ता) चित्रबहादुर केसीले गरेका थिए ।

संस्थाले रेडियो सञ्चालन गरेर एकातिर ग्रामीण तथा विकट क्षेत्रका जनतालाई सुसुचित गरिरहेको र अर्कोतिर संस्थाले सुशासन, आयआर्जन लगायत सामाजिक काम पनि गर्दै आएको उनले बताए ।

स्थापना कालदेखी नै रेडियो दैनिक साढे १५ घण्टा प्रशारण हुदैँ आइरहेको छ । रेडियोले दैनिक रुपमा नेपाली र थारु भाषामा समाचार बुलेटिनका साथै विभिन्न भाषामा सूचना मुलक र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरिरहेको स्टेशन म्यानेजर चौधरीले जानकारी दिइन् ।