नेपालगन्ज म्याराथनमा महानायक राजेश दौडिने


नेपालगन्ज म्याराथनमा महानायक राजेश दौडिने

नेपालगन्ज ११ कार्तिक : ‘धारा सातौं नेपालगन्ज म्याराथन’मा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसिर ४ गते सातौं संस्करण हुँदैछ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए ।

अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए ।

नेपालगन्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् ।

यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य सबै दौडमा सहभागी हुँदैछन् । नेपालगन्ज म्याराथनले शहरलाई चिनाएको छ । फूल म्याराथनमा नेपालगञ्ज र कोहलपुर जोडिने भएकाले दुई शहरलाई जोड्ने काम गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

अध्यक्ष ठकुरीका अनुसार, नेपालगन्ज म्याराथनलाई भब्य र सब्य बनाउन धारा तेल, आशिर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पे प्रत्यक्ष जोडिएका छन् ।

नेपालगन्ज म्याराथनलाई व्यवस्थित गर्न वेभसाइट लन्च भइसकेको छ । जहाँसुकैका खेलाडीले म्याराथनमा भाग लिनका लागि आफ्नो नाम लेखाउन सक्छन् । देशका सात वटै प्रदेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको छ । म्याराथनमा वर्षेनी नयाँ–नयाँ प्रविधि जोड्ने र सहभागिता बढाउने अभियान जारी रहेको छ ।

नेपालगन्जको वीपीचोकबाट शुरु भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः वीपीचोकसम्म आइपुग्ने म्याराथनले देश विदेशमा नेपालगञ्ज शहरको पहिचान बढाएको ठकुरीको भनाई छ । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न सात बर्ष अघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।

बिश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि बृद्धसम्मलाई समेट्छ । साथै ठाउ“ बिशेषको पहिचान स्थापित गर्छ, बिभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगञ्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । यो सहकार्यमा एउटा इट्टा थप्न महानायक हमाल आउँदै छन् ।

नेपालगन्ज म्याराथनको उचाई दिन प्रति दिन बढ्दै गइरहेको छ । नेपालगञ्ज म्याराथन गत संस्करण टोकियो ओलम्पिकको छनौट प्रतियोगिता बनेको थियो । यो संस्करणका विजेता गोपीचन्द्र पार्कीले प्राविधिक कारणले टोकियो जान नपाएपनि बर्लिन म्याराथनमा सहभागिता जनाएर फर्किएका छन् । यसबाट पनि नेपालगन्ज म्याराथन स्थापित र चर्चित म्याराथन रहेको पुष्टि गरेको छ । अध्यक्ष ठकुरीले समयमै आफ्नो नाम रजिष्टर गरेर यो महाउत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।