कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग्दै बार


कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग्दै बार

नेपालगन्ज १४ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् ।
नेपाल बार एसोसिएसनले सुरु गरेको प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगाना र बारका पूर्वअध्यक्षहरु लगायतको समेत उपस्थित रहेकोछ ।

बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल बारले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।

नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत सहभागी छन् । बुधबारसम्म प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।