‘नेपाली भूमीमा भारतीयबाट बन्धकमा परे’ प्रदेश सांसद नमुना


‘नेपाली भूमीमा भारतीयबाट बन्धकमा परे’  प्रदेश सांसद नमुना

नेपालगन्ज: बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण केसी ‘नमूना’ले नेपाली भूमीमै भारतीयले बन्धक बनाउँदा असह्य पीडा भएको बताएकी छन् । नेपालगन्जमा शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै सांसद नमुनाले भारतीय नागरिकबाट नेपाली भूमीमै आफुसहितको टोलीलाई बन्धक बनाउँदा असह्य पीडा भएको बताएकी हुन् ।

सांसद केसीले पत्रकारसंग कुरा गर्दै भनिन्, ‘आफ्नै निर्वाचन क्षेत्रमा भारतीय नागरिकबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुश भयो । हाम्रो भूमीमा भारतीयहरुको राज चलिरहेको पाए । उनीहरुले हामी सवार गाडीको हावा खुस्काइदिएर जलाउने प्रयास समेत गरेका थिए तर, सुरक्षाकर्मीको चलाखीका कारण घटना घट्न पाएन । हामी सुरक्षित नेपालगन्ज आइपुग्यौं ।’

आफ्नो निर्वाचन क्षेत्रमा जनतासंग भेटघाट गरि त्यसक्षेत्रको समस्या समाधान र विकासका लागि सुझाव लिन हामीहरु हिजो (शुक्रबार) बाँकेको बघौडा क्षेत्रमा गएका थियौं । पूर्व निर्धारित कार्यक्रमसकेर हामीहरु नेपालगन्ज फर्कदै गर्दा उनीहरुले नरैनापुर गाउँपालिकाको प्राङ्गढबाट हामी सवार गाडी कब्जा लिए । घटनाको यथार्थ विवरण सुनाउदै सांसद नमुनाले भनिन् –‘भारतीय मुलका नागरिक देवदिन विक चरेश सहित प्रहरीले पक्राउ गरेको रहेछ । आक्रोशित भीडले हामीहरुलाई आफ्नो नियन्त्रणमा लिदै पक्राउ परेको ब्यक्तिलाई छुटाउन दवाव दिइरहे ।’

आक्रोशित भीडले भारतीय नागरिक त्यो पनि चरेशसहित पक्रेको अवस्थामा छुटाउन मलाई दवाव दिइरहेका थिए । जो मेरो पहुँच भन्दा टाढाको विषय थियो । प्रशासनिक विषय भएकाले त्यसमा मैले केही सहयोग गर्न नसक्ने बताएपछि घरेलु हातहतियारसहित आक्रोसित भीडले बार्गेनिङ्ग गर्दै भने –‘पहिले हाम्रो मान्छे छुटाउनुहोस्, अनि मात्र तपाईहरुलाई जान दिन्छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

चरेशसहित पक्राउ परेका भारतीय नागरिक विश्वकर्मालाई छोड्न दवाव दिँदै सीमापारीबाट भारतीय नागरिकहरुको हुल नेपाल प्रवेश ग¥यो र नेपालतर्फका स्थानीयहरुले उनीहरुलाई साथ र सर्मथनसमेत दिएको पत्रकार सम्मेलनमा सांसद केसीले बताइन् ।

बाँकेको राप्तीपारि नरैनापुरमा लाग्ने हाटबजारमा ब्यवसाय गर्ने भारतीय नागरिक देवदिन विश्वकर्मालाई प्रहरीले शुक्रबार पाँच किलो चरेससहित पक्राउ गरेपछि उनलाई छोड्न दवाव दिँदै भारतीय नागरिकहरुले प्रहरी चौकीलाई घेराहालिरहेका अवस्थामा पुगेका प्रदेश सांसद केसीसँगै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहसहितको टोलीलाई उनीहरुले शुक्रबार ६ बजे घेराबन्दी गरेका थिए ।

घेराबन्दीमा लिएको खबर पाएसगैं पुगेको सशस्त्र प्रहरीको टोलीले करिब ४ घण्टासम्म सांसद केसीसहितको टोलीलाई गाउँपालिकाको कार्यालयमा राखी सुरक्षा दिएको थियो । राती १० बजेतिर नेपालगन्जबाट घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोलीले सांसद केसीसहितको टोलीलाई त्यहाँबाट सुरक्षा दिँदै ईलाका प्रहरी कार्यालय भगवानपुर हुँदै राती २ बजे नेपालगन्ज सकुसल पु¥याएको थियो ।
चरेशसहित तस्करलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय भोजभगवानपुरमा थुनेपछि आक्रोशित बनेका स्थानीयले भोजभगवानपुरभित्र राखिएको प्रहरीको गाडी र मोटरसाईकल तोडफोड गरेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्थितीलाई नियन्त्रणमा लिनेक्रममा ६३ राउण्ड हवाईफायर गरिएको जानकारी दिए । तर, प्राप्त सूचनाका अनुसार नेपाल प्रहरीले ६७ राउण्ड, सशस्त्र प्रहरीले ३ राउण्ड गरि जम्मा ७० राउण्ड हवाई फायर गरिएको थियो । यस्तै नेपाल प्रहरीले ५ राउण्ड र सशस्त्र प्रहरीले ३ राउण्ड अश्रुग्यास फायर गरेको बुझिएकोछ ।
आक्रोशित भीडलाई साम्य बनाउन खोज्दा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका एकजना जवान घाइते भएको र उनीहरुको नेपालगन्जमा उपचार भएको बुझिएकोछ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सापकोटाले नरैनापुरको परिस्थिती नियन्त्रणमा आएको बताएका छन् । यद्यपी सो क्षेत्रको सुरक्षा कडा पारिएकोछ । यसैबीच नेकपा बाँकेले घटनापछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिव अशोक कोइरालाले घटनामा संलग्नको पहिचान गरि कडा कारबाही गर्न माग गरे ।

यस्तो थियो घटनाक्रम
‘केहीदिनदेखी नरैनापुर क्षेत्रबाट ठूलोमात्रामा चरेश तस्करी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी पाएको थियो । सो जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उक्त क्षेत्रमा निगरानी बढायो । प्रहरीले स्थलगत सवै अनुसन्धान गरि निगरानी बढाएपछि शुक्रबार दिउँसो ४ः३० बजेतिर ५ किलो चरेश सहित भारतीय नागरिक देवदिन विकलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नरैनापुरक्षेत्रमा लाग्ने हाटबजारको एक पसलबाट चरेश कारोबार भइरहेको शंकामा खानतालसी गर्दा झोलामा चरेश भेटायो । उक्त झोला कसको हो भनि सोधखोज गर्दै जाँदा कसैलेपनि आफ्नो हो नभनेपछि झोला भेटिएको पसलवाला देवदिन विकलाई थप अनुसन्धानका लागि आफ्नो नियन्त्रणमा लियो ।

चरेशसहित पसलवाला विकलाई प्रहरीले नियन्त्रणमा लिएको केही घण्टामै घरेलु हातहथियारसहित भारतीय नागरिकहरुको हुल प्रहरी चौकीतिर बढ्यो । भारतीय नागरिकलाई नरैनापुर क्षेत्रका स्थानीयले समेत साथ दिए । घरेलु हातहथियारसहित आएका आक्रोसित स्थानीयबासीले ईलाका प्रहरी कार्यालय भोजभगवानपुरलाई घेरा हालि विकलाई छोड्न दवाव दिइरहे ।

कम संख्यामा रहेका प्रहरीलाई देखेपछि घरेलुहात हतियारसहित आएका भारतीय नागरिकले प्रहरीमाथि ढुङ्गा, ईट्टाले प्रहार गर्न थाले । आक्रोशित भीडलाई नियन्त्रणमा लिन खोज्दा आक्रोशित भिड आक्रमक रुपमा अघि बढे र चौकी भित्र पार्क गरेर राखिएको प्रहरीको गाडी र मोटरसाईकल तोडफोड गरे । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले भरपुर प्रयास गरिह्यो । अवस्था सामान्य नलागेपछि प्रहरीले हवाई फायर गर्दै अश्रुग्यासको सहारा लियो । उत्तेजित र आक्रामक बनेको भीडले उग्ररुप लिदाँ स्थिती नियन्त्रणमा नआएपछि नेपालगन्जबाट सयौंको संख्यामा थप सुरक्षा बल नरैनापुर पठाइयो ।

शुक्रबार बेलुका ६ बजे घटनका लागि थप बल मगाएको नरैनापुरमा राती १० बजे मात्र प्रहरी पुगे । यता जिल्ला प्रहरी कार्यालय बाँकेलाई नेपालगन्जमा सुरक्षाकर्मीलाई जुटाउन हम्मे–हम्मे भयो । जसोतसो गण, गुल्म लगायतबाट एकिकृत गरेको प्रहरी टोली नेपालगन्जदेखि नरैनापुर पुग्न करिब ४ घण्टा लाग्यो । नेपालगन्जदेखि नरैनापुरसम्मको बाटो विगतको भन्दा सहज र सुलभ छ । बाँके प्रहरीलाई भनेको बेला आवश्यक जनशक्ती जुटाउन नसक्नुले स्थिती नियन्त्रणमा आउन समय लागेको हो ।

बाँकेको नरैनापुर क्षेत्र लागुऔषध, हातहतियार, मठमन्दिरका दुर्लभ मूर्ती, सिमेन्ट, काठ तस्करीको मुख्य नाकाका रुपमा मानिन्छ ।