नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालन, चाडबाडमा सर्वसाधरणलाई सहज


नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालन, चाडबाडमा सर्वसाधरणलाई सहज

नेपालगन्ज १५ कार्तिक : पछिल्लो २ वर्षदेखि बन्द रहेको नेपाल–भारत मैत्री बस सेवा आईतबारदेखि पुनः सुचारु गरिएकोछ । कोरोना कहरका कारण २ वर्षदेखि प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

नेपालगन्जस्थित भेरी यातायात प्रालिले नेपालगन्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।

कोरोना संक्रमणको जोखिम घटेसंगै सीमानाकामा दुवै देशबाट सवारी साधन आवागमन अनुमति भएकाले आईतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती व्यहोर्नुपरेको थियो । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपालीहरु धेरै ठाउँमा ठगिने गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिए ।
मैत्री बस सञ्चालन भएपछि भारतका विभिन्न सहरमा यात्रा गर्नेलाई सुरक्षित र सहज यात्रा गर्ने अवसर मिलेको उनको भनाइ छ । रोकिएको मैत्री बससेवा सुरु भएपछि भारतबाट फर्किने नेपालीहरू सीधा नेपालगञ्ज आउने भएकाले यहाँका होटल तथा व्यापार व्यवसायमा समेत प्रत्यक्षरूपमा फाइदा पुग्ने उनले बताए ।

नेपालगन्जबाट भारतको लखनऊ स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो सङ्ख्यामा नेपाली नागरिक जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगन्जबाट बस छुट्ने र लखनऊबाट नेपालगन्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिए ।

उनका अनुसार दिल्लीका लागि नेपालगन्जबाट साँझ ५ बजे र दिल्लीबाट नेपालगन्जका लागि पनि साँझ ५ बजे तथा देहरादुन र हरिद्वारका लागि नेपालगन्जबाट राति ८ बजे बस छुट्ने गरेका छन् ।