कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, काँग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री बन्ने


कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, काँग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री बन्ने

नेपालगन्ज १५ कार्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमार्फत् प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गरेका हुन् ।

२०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । ‘इमानको राजनीति गर्दै सत्ता गठबन्धनमा रहेको दल नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न मार्ग प्रशस्त गरेको छु,’ मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनमा भने ।

प्रदेशबासीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकारले यो अवधिमा गरेका कामका बारेमा चर्चा गरे । उनले आफू नेतृत्वको सरकारले विकास निर्माण लगायत प्रदेश सरकारको तर्फबाट निर्माण गर्नुपर्ने ऐन, नियम र विधेयकका बारेमा महत्वपूर्ण काम गरेको दाबी गरे ।

सरकार गठन भएदेखि ११३ वटा मन्त्रीपरिषद् बैठक भएका र ती बैठकले ६९३ जनपक्षीय निर्णय गरेको शाहीले दाबी गरे ।

Kids Festival 2022
kanti aarogya hospital

सत्ता गठबन्धनमा कात्तिक १५ गतेदेखि प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसलाई दिने लिखित सहमतिअनुसार कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारका मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएका हुन् । अब कर्णालीमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुने जनाइएको छ । काँग्रेसबाट संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।