नेपालगन्ज १६ कार्तिक : प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत न्यायाधीशहरु यतिबेला आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सम्मानजनक बहिर्गमनका लागि पठाएका प्रस्तावको अर्थ खोज्दै सर्वोच्चका न्यायाधीशहरूले अस्वीकार गरेका छन् ।
न्यायालय सुधारको माग गर्दै गत ९ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यसअघि आईतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव अघि सारेपछि प्रधानन्यायाधीशका विषयमा आगामी रणनीति बनाउन उनीहरु बैठकमा बसेका हुन् ।
सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँगको छलफलपछि प्रधानन्यायाधीश राणाले विभिन्न तीनवटा प्रस्ताव पठाएका थिए ।
जसबारे न्यायाधीशहरूबीच मंगलबार सामूहिक छलफल भएको थियो । तर, न्यायाधीशहरूले राणाले आफूहरूका माग बेवास्ता गरेको, अल्मल्याउन खोजेको आरोप लगाएका छन् ।
‘उहाँले सम्मानजनक बहिर्गमनका लागि भनेर तीन विकल्प अघि सार्नुभएको थियो । हामीले त्यही अनुसार हिजो बन्दी प्रत्यक्षीकरणका मुद्दा हे¥यौं’, एक न्यायाधीशले भने, ‘पहिलो कुरा त ती विकल्प हाम्रा लागि मान्य हुने खालकै थिएनन् । उहाँले अल्मल्याउन मात्र तिनलाई अघि सार्नुभएको हो । हिजो हामीले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेपछि उहाँले अव यिनिहरू मुद्दा हेर्न फर्किए भन्ने सन्देश दिन खोज्नुभयो । त्यसकारण हामी बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत नहेर्ने दुःखद् निर्णय लिन बाध्य भयौं ।’
थप निर्णय लिन न्यायाधीशहरूको बैठक अहिले सर्वोच्च अदालतमा जारी छ ।