बाँकेमा जुवा अपरेशनःएकैरात ४८ जुवाडे पक्राउ, ठुला जुवाडे पर्दैनन् पक्राउ
नेपालगन्ज : तिहारको मौका छोपी नेपालगन्जमा करोडौंको जुवा भइरहेपनि मुकदर्शक बनेको बाँके प्रहरी शुक्रबार रातीदेखि जुवा अपरेशनमा लागेको छ । नेपालगन्जमा जताततै जुवा भइरहेको र एकै रातमा करोडौंको जीतहार भइरहेपनि प्रहरी चुपचाप बसिरहेको भन्ने जनगुनासो बढेपछि बाँके प्रहरीले जुवा अपरेशन सुरु गरेको हो ।
जुवालाई नियन्त्रण गर्न बाँके प्रहरी जुवा अपरेशनमा लागेको छ । अपरेशन अन्र्तगत बाँके प्रहरीले एकै रातमा ४८ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले शुक्रबार राती ४८ जना जुवाडेलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरुबाट ४ लाख ६६ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
साना जुवाडेलाई पक्राउ गरिएपनि नेपालगन्जका नाम कहलिएका जुवाडेलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीलाई सेटिङ् मिलाएको भन्दै नेपालगन्जका नामुद जुवाडेहरु निर्धक्क जुवा खेलिरहेका छन् । उनीहरु खेलिरहेको ठाउँमा बाँके प्रहरी अपरेशन गर्न जाँदा प्रहरी भित्रैबाट उनिहरुलाई पहिलेनै खबर जाने गर्छ ।
जिल्ला प्रहरी कार्यालय भित्रैबाट सुचना लिक हुने भएकाले ठुला जुवाडे पक्राउ हुन सकेका छनैन । ठुला जुवा खेलिरहेको सुचना दिंदा पनि बाँके प्रहरीले वास्ता नगरेको ती व्यक्तीले सेतोखरीसँग बताए ।
‘श्रीमान जुवा खेल्दा हाम्रै छिमेकी करोडौं हारेर घरबार बिहिन भइसकेर उनका श्रीमती आएर जुवा रोकिदिन आग्रह गर्छन् तर बाँके प्रहरीलाई सुचना दिंदा फोन पनि उठाउँदैन वास्ता पनि गर्दैन । मैलै हिजो राती एसपीको डिएसपीको दुवैको मोवाइलमा फोन गरे रिसिभनै गर्नु भएन ।’ एक सुचनावाहकले सेतोखरीसँग भने ‘जुवा खेलिरहेको खबर नि पठाए, कुनै रेस्पोन्स आएन । ठुला जुवाडेसँग प्रहरी नमिलेको भए यस्तो हुन्छ र ?’