नेपाली काँग्रेस १४ औं महाधिवेशन

‘निर्वाचनलाई सफल पार्ने दायित्व सबैको हो’


‘निर्वाचनलाई सफल पार्ने दायित्व सबैको हो’

नेपालगन्ज २३ कार्तिकः नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा खटिएका निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले पार्टीको निर्वाचनलाई सफल पार्ने सबैको दायित्व भएको बताएका छन् ।

नेपाली काँग्रेसका सबै क्रियाशिल सदस्य, नेतृत्व वर्ग र भातृ तथा शुभेच्छुक संस्थाको बराबर दायित्व रहेको उनको भनाइ छ ।

नेपाली काँगे्रस बाँकेको कार्यालयमा मङ्गलबार सम्बोधन गर्दै निर्वाचन अधिकृत भट्टराईले बाँकेमा अधिवेशन ढिलो भएपनि राम्रै भएको बताए । ‘बाँकेमा अधिवेशन हुनमा केही ढिला भएको छ, तर जे भएको छ, राम्रै भएको छ,’ उनले भने ‘अधिवेशन ढिलो हुँदा अर्कामा माझिने र केही तिक्तता मेटिने काम भएको छ ।’

पार्टीको आन्तरिक निर्वाचन भएकाले धेरै विवाद र मतभेद गर्न आवश्यक नरहेको निर्वाचन अधिकृत भट्टराइको भनाइ छ । आफुलाई निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ पार्टीले खटाएको र निश्पक्ष रुपमा जिम्मेवारी पुरा गर्ने उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘निर्वाचनको लागि म उपस्थित भएको छु, म भनेको निमित्त पात्र हुँ, निर्वाचन सम्पन्न यहाँहरुले नै गर्ने हो,’ उनले भने ‘म नेपाली काँग्रेसको एउटा सिपाही हुँ, निर्वाचन मलाई पनि चाहिन्छ, तर पार्टीको अधिवेशन यहाँहरुको हो, मलाई भन्दा बढी अधिवेशन यहाँहरुलाई चाहिएको छ ।’

बाँके जिल्लाका समग्र नेपाली काँग्रेसप्रति आवद्ध क्रियाशिल सदस्य, नेतृत्ववर्ग र शुभेच्छुक संस्थाले निर्वाचन सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गरिदिनुपर्ने भट्टराईले बताए । उनका अनुसार यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडाअधिवेशन सम्पन्न हुनेछन् ।

यस्तै कार्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते क्षेत्रीय अधिवेशन तथा महाधिवेशन महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।

निर्वाचन अधिकृत भट्टराईलाई नेपाली कांगे्रस बाँकेका सभापति किरण कोइरालाले खादा ओढाएर स्वागत गरेकी थिइन् । सो क्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र हमालसहित नेपाली काँग्रेसका जिल्ला, क्षेत्र तथा विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।