नेपालगन्ज २४ कार्तिकः तराईबासी हिन्दु धर्मावलम्बीको महापर्व छठ बुधबार धुमधामका साथ मनाइएको छ ।
छठ पर्वको अवसरमा नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा बुधबार बेलुका विशेष चहलपहल रह्यो । बागेश्वरी मन्दिर परिसरमा रहेको तालमा छठको विशेष रौनकता छाएको थियो ।
छठका ब्रतालुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ ।
नदी, तलाऊ तथा पोखरी किनारमा बनाइएका छठ घाटमा बुधबार ब्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिसकेपछि बिहीबार बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ ।

छठका अवसरमा घरका सदस्यहरुले ब्रतालुका लागी नदी किनारमा आ–आफ्नो स्थान सुरक्षित गरेर श्रृङ्गार गर्नेगर्दछन् । छठ पूजाको लागि जिल्लाभरीका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी सिंगारिएको थियो । भने बागेश्वरी मन्दिर परिसरलाई झिलीमिली बत्तिले दुलही झै सजाइएको थियो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
यसअघि सोमबार बेलुका छठ ब्रतालुहरुले ‘खरना’ पुजा सम्पन्न गरेका थिए । पूजापछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार ब्रत बसे ।

बुधबार बेलुका पूजा पश्चात खाएको प्रसादको भरमा रहेर ब्रत बसेका ब्रतालुले बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र अन्न र जल ग्रहण गर्नेछन् ।
लगातार ३६ घण्टासम्म निर्जल र निराहार भएर गरिने यो ब्रत तराईबासीले निकै आस्था र श्रद्धा पूर्वक मनाउने गर्छन् । छठ ब्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ति हुने र परिवारमा सुख शान्ति छाउने जनविश्वास छ ।