नेपालगन्ज: आईतबार भएको छुट्टाछुट्टै दुर्घटनामा १२ जनाको मृत्यु भएकोछ । धादिङ्गमा भएको बस दुर्घटनामा सवैभन्दा बढिको मृत्यु भएको पाइएको हो ।
काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७. ख ४३८७ नम्बरको रात्रीबस आईतबार बिहान ६ बजेतिर धादिङ्गको गजुरीमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको थियो ।
बस सडकबाट ३० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रत्यक्षदर्शीका अनुसार बसले सडक छेउको फलामेतारबार भत्काएर बल्ड्याङ खेल्दै नदीमा खसेको थियो ।
दुर्घटनामा परी इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, चन्द्रागीरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी र धादिङ वेनिघाट रोराङका राजन आचार्यको मृत्यु भएको हो भने मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न सकेको छैन । यस्तै थप अन्य दुई जनाको सनाखत हुन नसकेको पनि प्रहरीले जनाएको छ ।
दुर्घटनामा २९ जना घाइते भएकोमा १४ जनाको अवस्था चिन्ताजनक रहेकोमा उनीहरूलाई उद्धारपछि तत्काल काठमाडौं पठाइएको थियो ।
तिव्र गतिका दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
यस्तै बैतडीमा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएकोछ । देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आईतबार बिहान ११ः३० बजेतिर नानीगाडमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बैतडी दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । भने एक जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४० वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । जीप दुर्घटनाको कारण खुलेको छैन। जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
आईतबार गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७ ढल्केमा लु२च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मी दरबारका २५ वर्षीय चालक मिनबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकोछ । ट्याक्टर आइतबार दिउँसो वामीटक्सारबाट मजुवातर्फ जाँदै थियो ।